
दोहा (कतार) – ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ आगामी ३१ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ।
सञ्जालद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार कार्यक्रम दिउँसो १२:०० बजे दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मल (Messcafe Restaurant, Plaza Mall) मा सञ्चालन हुनेछ।
आयोजना हुन लागेको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन
कार्यक्रममा कतारमा रहेका ठकुरी समुदायका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने संस्थाका अध्यक्ष खगेन्द्र शाही ठकुरीले बताउनु भयो ।
कार्यक्रममा सञ्जालको वार्षिक प्रगति समीक्षा, नयाँ कार्यसमितिको चयन, आगामी कार्ययोजना तथा समुदाय हितका विभिन्न विषयमा छलफल हुने जनाइएको छ। आयोजकले कतारमा रहेका सम्पूर्ण ठकुरी समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन अनुरोध गरेको ठकुरी सहयोग सञ्जाल कतारको संरक्षक भरत मल्ल ठकुरीले सेतीकर्णाली खबर डटकमलाई जानकारी दिनु भयो ।
ठकुरी सहयोग सञ्जाल कतार सन् २०१४ जुलाई २९ मा संस्थापक अध्यक्ष उमेश जङ्ग शाहीको नेतृत्वमा स्थापना भएको हो। संस्थाले “सभ्य भाषा, सभ्य संस्कृति, हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मूल नारासहित कतारमा रहेका नेपाली ठकुरी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ।



