October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २९, २०८१ १४:२७
स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको रिक्त उपाध्यक्ष पदका उपनिर्वाचन हुने भएको छ । गाउँपालिकाका उपाध्यक्ष सहित सुदूरपश्चिमका चार वडाध्यक्षको पद रिक्त रहेको छ ।

निर्वाचन आयोगका अनुसार बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ ।

निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका सुदूरपश्चिममा पाँच वटा पद रिक्त रहेको बताएको हो ।

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहहरूका पदका लागि निर्वाचनको तयारी थालेको हो । आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारीमा रहेको बताएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप निर्वाचनको मिति तोक्ने हुन्छ ।

निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पद रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै ती स्थानमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘प्रधानमन्त्रीज्यूले मंसिर १८ देखि २० भित्र चुनाव गर्ने गरी तयारी गर्नुस्, अहिले नै मिति तोकिहाल्नुपरेन, हामी पनि छलफल गर्छौँ भन्नुभएको छ,’ प्रमुख आयुक्त थपलियाले छलफलको निष्कर्ष सुनाउँदै भने, ‘मिति पछि तोकिन्छ । तर, हामी तयारीको गृहकार्य अगाडि बढाउन दुई–तीन दिनभित्रै मतदाता नामावली प्रकाशन गरेर काम सुरु गर्छौँ ।’

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २९, २०८१ १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट