बझाङ, असार ३। बझाङको बित्थडचिर गाउँपालिका–४ मा रहेको देवशरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, आर्थिक सहयोग तथा लत्ताकपडा वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच बित्थडचिर गाउँपालिका–६ का वडा हरिश अध्यक्ष खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो।
वडा अध्यक्ष खड्काले आफ्नो एक वर्षको सेवा–सुविधाबाट प्राप्त हुने रकमको १० प्रतिशत बराबरको रकम अनाथ, टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि प्रदान गर्नुभएको छ। उक्त रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।
आर्थिक सहयोगसँगै उहाँले विद्यार्थीहरूलाई लत्ताकपडा तथा फलफूल समेत वितरण गर्नुभएको थियो। विद्यालयमा अध्ययनरत विपन्न तथा अभावमा रहेका बालबालिकालाई लक्षित गरी गरिएको सहयोगले उनीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको विद्यालयले जनाएको छ।
यसैबीच वडा अध्यक्ष खड्काकै पहलमा सीएमसी नेपालमार्फत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि करिब ७ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ। विद्यालयलाई प्रदान गरिएका कापी, कलम, पेन्सिल लगायतका सामग्रीले विद्यार्थीहरूको दैनिक पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले समाजमा रहेका असहाय, टुहुरा, अनाथ तथा आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षामा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। “शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले सक्दो सहयोग गर्दै आएको छु,” उहाँले भन्नुभयो।
उहाँले हरेक वर्ष आफ्नो परिश्रमबाट प्राप्त आम्दानी तथा सेवा–सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूले वडा अध्यक्ष खड्काको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता उदाहरणीय कार्यले अन्य व्यक्तिहरूलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढाइप्रति थप जिम्मेवार र उत्प्रेरित बनाउने बताउनुभयो।
शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका वडा अध्यक्ष खड्काको यो कार्यलाई स्थानीय स्तरमा सकारात्मक र उदाहरणीय पहलका रूपमा हेरिएको छ। आर्थिक अभावका कारण विभिन्न समस्या भोगिरहेका विद्यार्थीहरूका लागि यो सहयोग महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ।