October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २९, २०८१ १२:१0
करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ ।

परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित पीडित परिवार र ठेकेदार कम्पनी (ईश्वर निर्माण सेवा) र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र लगायतका सरोकारवाला निकाय बीचको बैठकले उक्त सहमति गरेको हो ।

साउन २६ गते (शनिबार) का दिन नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तर्गत साँफे–मार्तडी ३३ केभीको विद्युत लाईन टेष्टिङ्गको क्रममा बडीमालिका–६ को जडाङ्गामा विष्ट करेन्ट लागेर घाईते भएका थिए । विष्टको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र र ठेकेदार कम्पनीकोे चरम लापरबाहीका कारण विष्टको मृत्यु भएको भन्दै ठेकेदार कम्पनीबाट उचित क्षतिपूर्ति र विद्युत प्राधिकरणमा मृतकको श्रीमतिलाई रोजगारीको ग्यारेण्टी नगरेसम्म आफन्तहरुले शव नबुझ्ने अडान लिएका थिए ।

मृतककी श्रीमति हजारी कुमारी बडुवाल (विष्ट) लाई शैक्षिक योग्यताको आधारमा मासिक ज्यालादारीमा रोजगारी दिने ग्यारेण्टी गरिएपछि आफन्तहरुले शव बुझ्ने सहमति भएको बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

मृतक विष्टको काजकिरिया समयावधि सकिएपछि तत्काल मृतककी श्रीमतिलाई मिटर रिडरको रुपमा कार्यालयमा कामकाज गर्ने गरी रोजगारीको सुनिश्चितता गर्ने र तत् पश्चात मिति २०८१ साउन २८ को च.न. २५ को पत्रअनुसार माथिल्लो निकायको निर्णय बमोजिम हुने बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका छन् ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २९, २०८१ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट