आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्लाको सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार उक्त कार्यालय स्थापना गरिएको हो।
बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालयको औपचारिक उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि सम्पूर्ण निर्वाचन प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। उहाँले निर्वाचन आयोगद्वारा तय गरिएको निर्वाचन कार्यक्रमअनुसार जिल्लामा आवश्यक सबै तयारी चरणबद्ध रूपमा अघि बढाइने बताउनुभयो।
मुख्य निर्वाचन अधिकृत बनेपालीले संविधान र निर्वाचन ऐनको मर्मअनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु नै निर्वाचन प्रशासनको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक दल, उम्मेदवार, सुरक्षानिकाय, कर्मचारी, सञ्चारकर्मी तथा आम मतदाताको सहकार्य बिना स्वच्छ निर्वाचन सम्भव नहुने भएकाले सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँका अनुसार निर्वाचन अवधिभर मतदाता नामावली अद्यावधिक, उम्मेदवारी दर्ता, निर्वाचन सामग्री व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा व्यवस्थापन, मतगणना लगायत सम्पूर्ण कार्यहरू तोकिएको कार्यतालिकाअनुसार सञ्चालन गरिनेछ। निर्वाचनसम्बन्धी कुनै पनि गुनासा, उजुरी वा जानकारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी प्रशासनिक कामकाज तीव्र बनाइनेछ भने जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरेर निर्वाचनलाई सफल बनाउने तयारी गरिएको छ। बझाङ जस्तो भौगोलिक रूपमा विकट जिल्लामा समयमै निर्वाचन सामग्री ढुवानी, मतदाता पहुँच र सुरक्षाको विषयलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ।
आगामी निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच निरन्तर समन्वय रहने जनाइएको छ। यससँगै बझाङमा प्रतिनिधि सभा सदस्य निर्वाचनको औपचारिक गतिविधि सुरु भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरूको चुनावी गतिविधि पनि क्रमशः सक्रिय हुँदै जाने अपेक्षा गरिएको छ।