October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मुख्यमन्त्री भट्टद्वारा डोटीमा ट्रायल सेन्टरको उद्घाटन, पाइने भयो डोटी बाटै लाइसेन्स

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ११, २०७९ १५:00
मुख्यमन्त्री भट्टद्वारा डोटीमा ट्रायल सेन्टरको उद्घाटन, पाइने भयो डोटी बाटै लाइसेन्स

किरण धामी ,डोटी-डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ । यातायात व्यवस्था कार्यालय डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार प्रयोगात्मक परीक्षा (ट्रायल) को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । अब देखी डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको छ ।

 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकलाई यो भन्दा पहिला लाइसेन्स लिन तराईका जिल्ला कैलाली र कञ्चनपुर जानुपर्ने बाध्यता थियो । डोटीसँगै डडेल्धुरामा पनि प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ । पहाडी दुई जिल्लामा प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएपछि पहाडका ७ जिल्लाका नागरिक लाभान्वित हुने भएका छन् । ट्रायल सेन्टरको उद्घाटन पछि लाइसेन्सको लिखित परीक्षा दिएकाहरूले आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) गरेका छन् ।

ट्रायल सेन्टरको उद्घाटन पश्चात् सबैभन्दा पहिला राजेश ठगुन्नाले ट्रायल पास गरेका छन् । ट्रायल पास भएकाहरूलाई आजै सवारी अनुमति पत्र लाइसेन्स दिइएको छ ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराई, जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंह, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, यातायात व्यवस्था कार्यालय डोटीका प्रमुख पूर्ण बहादुर शाह लगायतको सहभागिता रहेको थियो ।

 

डोटीमा २०७२ असार ३ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग रहने गरी यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको २०७८ चैत १६ गते बसेको मन्त्रिपरिषद्ले सेवा कार्यालयलाई स्तरबृद्धि गर्ने निर्णय गरेको र चैत २२ गतेबाट यातायात व्यवस्था कार्यालयमा रुपान्तरण भएको थियो । यातायात व्यवस्था कार्यालय डोटीको कार्यक्षेत्र डोटी, अछाम र बाजुरा जिल्ला हुन् ।

कार्यालयबाट दुई तथा चार पाङ्ग्रे सवारी साधनको कर सङ्कलन, हाललाई दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण, सार्वजनिक सवारी साधनहरूको प्राविधिक जाँच पास गर्ने कार्यहरू हुने कार्यालय प्रमुख पूर्ण बहादुर शाहले बताए । त्यस्तै नयाँ रुट परमिट जारी एवम् नवीकरण गर्ने, यातायात सेवाको नाम पंजिकरण गर्ने, सवारी चालक अनुमति पत्र जारी गर्ने र अस्थायी रुट इजाजत दिने कार्यहरू कार्यालयबाट हुने कार्यालय प्रमुख शाहले बताए ।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ११, २०७९ १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट