October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गर्मीसंगै बढ्यो आगलागीको जोखिम : बर्सेनि नोक्सान, रोकथाममा बेवास्ता

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १९, २०७८ 0६:५0
गर्मीसंगै बढ्यो आगलागीको जोखिम : बर्सेनि नोक्सान, रोकथाममा बेवास्ता

सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो ।

हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र भएका आगलागीका यी केवल उदारण हुन् । गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन् । साथै आगलागीको जोखिम पनि बढेको छ । गर्मीयाममा सानो असावधानीका कारण आगलागी हुँदा ठूलो नोक्सान हुने गरेको हो ।

तीब्र गतिमा चल्ने हावाहुरीका कारण आगलागी क्षणभरमै फैलिने गर्दछ । गर्मीयाम लागेसँगै गाउँघर र वनजंगलमा आगलागीको जोखिम बढेको छ । भिरालो जमिन भएका कारण कर्णालीमा आगलागीको जोखिम पनि धेरै छ । आगलागीका घटनाबाट कर्णालीले बर्सेनि क्षति बेहोर्दै आएको छ ।

आगलागीबाट जंगल जोगाउन साँधसीमानाका झारपात हटाउन सकिन्छ । क्षति कम गर्न र समयमै नियन्त्रणका लागि जनशक्ति तयारी राख्न सकिन्छ । आगो नियन्त्रणका स्थानीयलाइ नै पर्याप्त तालिम दिन सकिन्छ ।

तर बर्सेनि आगलागीबाट करोडौंको धनजनको क्षति बेहोर्दै आएको कर्णालीमा भने क्षति न्यूनिकरणका लागि पूर्वतयारी र रोकथाममा वेवास्ता गर्ने गरिएको छ । आगलागी भएको खण्डमा निभाउन अधिकांश स्थानीय तहमा दमकल नै छैनन् । दमकल भए पनि सबै स्थानमा दमकल पुग्न सक्ने अवस्था छैन ।

पानीको अभावका कारण आगो निभाउनै कठिन छ । तर आगलागीबाट जोगिनका लागि पूर्वतयारीमा भने बेवास्ता गरिदै आएको छ । स्थानीय तहमा आगलागीबाट जोगिन र समयमै क्षति न्यूनिकरण गर्ने जस्ता कार्यक्रमहरु छैनन् ।

प्रदेश सरकारसँग पनि भरपर्दा कार्यक्रम छैनन् । चालु आर्थिक बर्षमा प्रदेशको विपद् हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग आगलागीजन्य घटना हुन नदिन सञ्चार माध्यमबाट सूचना÷प्रचार प्रसारण गर्नेबाहेक अन्य कार्यक्रम छैन

गलागीबाट चार बर्षमाकर्णालीमा २२ जनाको मृत्यु
आगलागीका घटनामा परी पछिल्लो चार बर्षमा कर्णालीमा २२ जनाको मृत्यु भएको छ । आगलागीका घटनामा परी आर्थिक बर्ष ०७५/०७६ मा तीन जना, ०७६÷०७७ मा चार जना, ०७७/०७८ मा १५ जना र चालु आर्थिकमा आठ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आगलागीका घटनामा परी सुर्खेत, कालीकोट र सल्यानमा धेरै जनाको मृत्यु भएको छ । चार बर्षको अवधिमा कालीकोटमा आठ, सल्यानमा सात र सुर्खेतमा पाँच जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

त्यस्तै सोही अवधिमा दैलेख, जुम्ला, जाजरकोट र रुकुमपश्चिममा दुई–दुई जनाको मृत्यु भएको छ । यस्तै आगलागीमा परी मुगु र डोल्पामा एक–एकजनाको मृत्यु भएको छ । त्यस्तै आगलागीमा परी ३७ जना घाइते भएका छन् । आर्थिक बर्ष ०७५/०७६ मा दश जना, ०७६/०७७ मा सात जना, ०७७/०७८ मा वीस जना र चालु आर्थिक बर्षको हालसम्म दुइ जना घाइते भएका छन् ।

दुई अर्बको भौतिक क्षति
कर्णालीमा पछिल्लो चार बर्षको अवधिमा ६ सय ५५ वटा आगलागीका घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतकाअनुसार आर्थिक वर्ष ०७५/०७६ मा दुईसय आठ वटा, ०७६/०७७ मा एकसय ६० वटा आगलागीका घटना भएका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा दुईसय ८७ वटा र चालु आर्थिक बर्षको हालसम्म प्रदेशभर ६७ वटा आगलागीका घटना भएका छन् । जसमध्ये पनि सुर्खेतमा आगलागीका घटना सबैभन्दा धेरै भएका छन् । चार बर्षमा सुर्खेतमा मात्रै एकसय ३६ वटा आगलागीका घटना भएका छन् ।

त्यस्तै दैलेखमा ५५ वटा, कालीकोटमा ८८ वटा, जुम्लामा एकसय चार वटा, मुगुमा ६३ वटा, हुम्लामा ४६, डोल्पामा २०, कालीकोटमा ८६, सल्यानमा ७७ र रुकुमपश्चिममा ४७ वटा आगलागीका घटना भएका छन् ।

आगलागीका घटनाबाट पौने दुई अर्ब अर्थात एकअर्ब ७५ करोड ९८ लाख सात हजार एकसय ८४ रुपैयाँ बराबरको क्षति भएको प्रवक्ता खड्काले जानकारी दिए । जसमध्ये आर्थिक बर्ष ०७५/०७६ मा चार करोड ६३ लाख ४२ हजार नौसय ८० रुपैयाँ, ०७६/०७७ म एक अर्ब १५ करोड ६ लाख ४८ हजार आठ सय ७० रुपैयाँ, ०७७/०७८ मा १८ करोड ८९ लाख ९५ हजार तीनसय ३४ रुपैयाँ र चालु आर्थिक बर्षमा २७ करोड ५१ लाख सात हजार ८१ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ –  yugnews ।

  • सेती कर्णाली खबर
  • -