December 6, 2024 | शुक्रबार, मंसिर २१, २०८१

हेल्लो सरकार! नागरिक एप भएन

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १०, २०७८ 0१:४९
हेल्लो सरकार! नागरिक एप भएन

काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ ।

हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनासा दर्ता भएका छन् ।

सरकारले २०७७ माघमा सुरु गरेको नागरिक एप नचलेको–नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक एप सुरु भएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रप्रति गुनासो सर्वाधिक छ । नागरिक तहबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।” नागरिकले फोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने र सरकारबाट त्यस्ता समाधान गरिने अभिप्रायले सुरु गरिएको हेलो सरकारमा २०७६ साउन १ यता १६ हजार ४८ वटा गुनासा दर्ता भएका छन् । तीमध्ये १० हजार २९४ वटा उजुरी हेलो सरकार कक्षबाटै फस्र्योट भएका छन् । कुल उजुरीका आधारमा यो ६४.१५ प्रतिशत हो । सम्बन्धित निकायबाट समाधान भएका गुनासोको सङ्ख्या ३१२ छ ।

पाण्डेका अनुसार विभिन्न सरकारी निकायबाट दुई हजार ३९४ वटा गुनासाको अनुसन्धान भइरहेको छ । सम्बन्धित निकायबाट हेरिए पनि कारबाही प्रक्रियामा नगएका गुनासा एक हजार ४२१ रहेको जानकारी दिँदै उहाँले एक हजार ६२७ वटा उजुरी सम्बन्धित निकायबाट नहेरिएको बताउनुभयो । त्यसैगरी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित एक हजार ४१, नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ५९८, नेपाल टेलिकमसँग सम्बन्धित ४२८, यातायात व्यवस्था विभागसँग सम्बन्धित ३८६ र काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ३२५ वटा गुनासा हेलो सरकारमा दर्ता भएको पाण्डेले बताउनुभयो ।

स्थानीय तहप्रति गुनासोको चाङ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कविता फुँयालका अनुसार २०७६ साउन १ देखि देशभरका सबै स्थानीय तहलाई हेलो सरकारको गुनासो पोर्टलमा आबद्ध गरिएको छ । सर्वसाधारणले स्थानीय तहका हरेक गतिविधिको उजुरी दिने व्यवस्था उक्त पोर्टलमार्फत मिलाइएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा स्थानीय तहसँग सम्बन्धित एक हजार १०४ वटा गुनासा हेलो सरकारलाई प्राप्त भएको प्रमुख पाण्डेले बताउनुभयो । तीमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ९६ वटा छन् । तीमध्ये २५ वटा गुनासा फस्र्योट भएको उहाँले बताउनुभयो ।

काठमाडौँसँगै ललितपुर, चितवनको भरतपुर, पोखरा, वीरगञ्ज महानगरपालिका तथा जनकपुर, इटहरी, हेटौँडा, बुटवलसहितका उपमहानगरपालिकामा भ्रष्टाचार, विकास निर्माणमा ढिलाइ तथा नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने मागसहितको गुनासो दर्ता भएका छन् । हेलो सरकार कार्यालयका अनुसार महानगर, उपमहानगरदेखि नगरपालिका र गाउँपालिकासम्म भ्रष्टाचार भएको गुनासा आउने गरेका छन् ।

गुनासो कार्यान्वयन
गत वर्ष रुपन्देहीको सुद्धोधन गाउँपालिका–३, सखुवानीमा सरकारी जग्गामा व्यक्तिले घर बनाएको गुनासो दर्ता भयो । औद्योगिक क्षेत्रको नाममा दर्ता भएको उक्त जग्गामा वडा अध्यक्षसँगको मिलेमतोमा घर बनाउन लागेको गुनासो आयो । हेलो सरकार शाखाबाट आवश्यक कारबाहीका लागि सुद्धोधन गाउँपालिकालाई निर्देशन दिइयो । पाण्डेले भन्नुभयो, “हेलो सरकारको निर्देशनपछि गाउँपालिकाले घर निर्माण कार्य रोक्का गरेको थियो ।- gorkhapatraonline

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १०, २०७८ 0१:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट