
सेतीकर्णाली खबर
उमेश जंग शाही बाजुरा, असार १० – स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।
गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ रुपैयाँ रहेको छ। हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १ सय ७ रुपैयाँ ५१ पैसा निकासा भइसकेको जनाएको छ।
निकासा भएको रकममध्ये हालसम्म २७ करोड १७ लाख ५४ हजार ४ सय ५५ रुपैयाँ २६ पैसा खर्च भएको विवरण गाउँसभामा प्रस्तुत गरिएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आन्तरिक राजस्वसहित ४४ करोड १६ लाख २ हजार रुपैयाँ आय अनुमान गरिएको छ। सोही बराबरको ४४ करोड १६ लाख २ हजार रुपैयाँ व्यय अनुमान समेत गाउँसभामा पेश गरिएको गाउपालिका प्रवक्ता सिह धामिले सेतीकर्णाली खबर लाई जानकारी दिनु भयो।
प्रस्तावित बजेटको विस्तृत कार्यक्रम तथा क्षेत्रगत विनियोजनको विवरण गाउँसभाको आगामी बैठकमा प्रस्तुत गरिने जनाइएको छ। गाउँपालिकाले आगामी वर्ष विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको गाउपालिका अध्यक्ष भरत रोकायाको भनाइ रहेको छ। 




