
राणाले शान्तिपूर्ण आन्दोलन गर्ने स्पष्ट पार्दै भने, ‘नेपाली जनता, सेना र प्रहरीलाई मार्ने–मराउने काम हामी गर्दैनौं। जनताको बलबाट नै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गर्छौं। राजा सहितको प्रजातन्त्र र सनातन हिन्दू अधिराज्य पुनःस्थापना गर्नुपर्छ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारकै कारण देश आर्थिक संकटमा फसेको, ऋणभार बढेको र राष्ट्र टाट पल्टने स्थितिमा पुगेको बताए।
अत्तरियाबाट धनगढीसम्म निकालिएको मोटरसाइकल र्याली कोणसभामा परिणत भएको थियो। उक्त कोणसभामा उनले गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी सबै शक्तिहरू एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नुपर्नेमा जोड दिए।

राणाले राजसंस्थाको पुनःस्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘राजसंस्था र सनातन हिन्दू अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नुपर्छ। अब राजसंस्था पुनःस्थापनाका लागि जाग्ने बेला भइसक्यो,’ उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई साथ दिन आह्वान गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नुपर्ने बताए।
राणाले संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिहरूको षड्यन्त्रका रूपमा नेपाली जनतामाथि थोपारिएको आरोप लगाउँदै भने, ‘संघीयता र धर्मनिरपेक्षता आयातित डलरको बलमा लादिएको कुरा अब प्रष्ट भइसकेको छ। नेपाली जनताले यी प्रणालीलाई स्वीकारेका छैनन्।’
राणाले सहकारी ठगीका कारण लाखौं जनता पीडित बनेको उल्लेख गर्दै भ्रष्टाचारी नेताहरूमाथि कडा कारबाहीको माग गरे। ‘कलकारखाना बन्द छन्, युवाहरू बेरोजगार बनेका छन्। सहकारी ठगीका कारण लाखौं नेपालीको उठिबास भएको छ। अब भ्रष्ट नेताहरूलाई राज्यबाट अलग गर्नुपर्छ,’ उनले चेतावनी दिए।