October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिम् पर्यटकीय ठाँउ [फोटो फिचर]

  • सेती कर्णाली खबर
  • आइतवार, असार १६, २०८१ १७:५७
सुदूरपश्चिम् पर्यटकीय ठाँउ [फोटो फिचर]

पवनराज उपाध्याय,नेपालगन्ज- सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन् । प्रचारप्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । प्राकृतिक पर्यटकसँगै यस प्रदेशमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ ।

सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरू धेरै ठाउँहरू छन् । उपयुक्त केही गन्तव्य यस्ता छन् ।

काठमाडौंबाट धनगढी (६८० कि.मि.) पुग्न बसमा १६ घण्टा लाग्छ भने हवाई यात्राबाट १ घण्टा १० मिनेटमा पुग्न सकिन्छ । धनगढीबाट सबै जिल्लमा पुग्न सहज सार्वजनिक गाडी उपलब्ध छ । निजी सवारीबाट पनि ती जिल्लाहरूमा जान सकिन्छ । केही गन्तव्य सम्मै गाडी जान्छ भने केहीमा भने पदमार्ग मात्रै पनि पुग्न सकिन्छ ।
१) कर्णाली पुल
नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौँसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो ।
यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्दका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।
२) टीकापुर पार्क
वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले एक महिना नेपालको राजकाज चलाएको इतिहास बोकेको टीकापुर पार्क सुन्दर र रमणीय छ। यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।
३)घोडाघोडी ताल
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।
४) भादा होमस्टे
थारु जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ तथा थारु समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारहरूले पर्यटकको मन लोभ्याउने गर्छ ।
५)शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । भित्र जिप ड्राइभ, हात्ती सफारी र जङ्गल वाक गरिन्छ । निकुञ्जभित्र साना ठूला धेरै फाँट छन् ।
जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष जङ्गल सफारीका लागि उत्कृष्ट गन्तव्य स्थल हो ।
६)दोधारा चाँदनी
कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल पनि नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरूको भीड हुन्छ । गर्मी मौसममा महाकालीछेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् ।
७)उग्रतारा मन्दिर
डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्ति पीठ मानिन्छ । यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ ।
८)शैलेश्वरी मन्दिर
शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिमको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ । यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकादेखि हुँदै आएको छ । यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।
९)निङ्गलासैनी मन्दिर
निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँ र चैते दसैँमा राँगा र बोकाको बलि दिने चलन छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भीमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् ।
१०)खप्तड
पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ ।
चारैतिर खस्रु, धुपी सल्ला र लालीगुराँसको घारीका बिचमा रहेको पाटन, रङ्ग विरङ्गी फूलहरू, दह, त्रिवेणी, नाग ढुङ्गा, खप्तड बाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडको विशेषता हो ।
११)रामारोशन
अछामको रामारोनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा रहेका बाह्र वटा ताल र अठार वटा ठूलाठूला चौरले सबै पर्यटकहरूको मन लोभ्याउँछ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।
१२)बुढिनन्दा धाम
बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने बुढिनन्दा क्षेत्र नेपालकै उत्कृष्ट गन्तव्य हो! समुद्र सतह देखि ४९०० मिटर उचाइमा रहेको उक्त मन्दिर पर्यटन र धार्मिक दृस्ठिकोणले बिशेश मानिन्छ। त्यहा रहेका शुन्दर तालहरु र हरिया पाटनमा फुलेका फुलहरुको मनोरम दृश्य ले तिर्थालुलाइ स्वर्ग गएजस्तो महसुस हुने गर्दछ। विभिन्न आकर्षक झरना ,हिउका लहरा,हरिया फाटहरु,मनोरम मौसम त्यहाको शुन्दरताको बिशेश गहना हो।
१३) बडिमालिका धाम
भू स्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल हिउँ कुल्चिनु पाउने सौभाग्य र मनोरञ्जन प्राकृतिक दृश्यहरु बडिमालिका गहना हुन। यहाँका सौन्दर्य भनेको विशाल फाटहरु हुन।
१४ त्रिबेणी पादुका धाम
बाजुरा जिल्लाको साबिक बाँधु गाविस पर्ने कर्णाली नदि पिलुपादुका पुग्दछ। तब पुर्वबाट पश्चिम र पश्चिमबाट पुर्व बुढिनन्दा नदि आएको छ। उत्तर बाट कैलाश जलकुण्डको पानी मिसाएर यो पवित्र पादुका धाम बनेको हो। यसको महत्त्व स्वस्थनीका अनुसार सतिदेविको दक्ष यज्ञमा देहावसान पछी शिवजीले बोकेर हिड्दा सतीका सम्पुर्ण अंग पतङ भएको थियो। यश क्षेत्रमा पाउ पतन भएर पादुका भएको हो। तसर्थ यसलाई सती पादुका भनिन्छ। धार्मिक तिर्थयात्राको दृस्ठिकोणले यो ठाउँ प्रसिद्ध मानिन्छ।

  • सेती कर्णाली खबर
  • आइतवार, असार १६, २०८१ १७:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट