October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० 0५:५८
स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् ।

यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् । अहिले घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, जेरा, जुकोट हुँदै मुक्तीकोट बस्तीका चारै तिरबाट सडक सञ्जाल जोडिएपछि अहिले गाउँमै व्यापार गर्न सहज भएको छ । दैनिक उपभोग्य सामग्री नुन तेल चामल दाल किन्न पसिना चुहाउँदै साँफे बार्जुगाड तिपाडा मार्तडी कोल्टी हुँदै पीलिचौर बजारमा धाउन पर्दथ्यो अहिले सो बस्तु गाउँमै पाइन थालेको धामीले बताउनुभयो।

पछिल्लो समय स्थानीय तहले सबै वडाहरूलाई सडक सञ्जालले जोड्दै गएपछि अहिले यहाँका स्थानीयबासीको जनजीवन समेत निकै फेरिएको स्वामिकार्तिक-२ का स्थानीय व्यापारी हँसबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय गाउँ बस्तीमै पुगेको सडकले यहाँका स्थानीयलाई व्यापार व्यवसाय गर्न समेत निकै सहज भएको छ । गाउँमा सडक पुगेपछि पहिला हाट ल्याउने बेला प्रयोग गर्दै आएका यहाँका डोका नाम्लाहरू समेत बिस्तारै लोप हुँदै गएको भण्डारीले बताउनुभयो ।

गाउँमा पुगेको सडकले अहिले यहाँका स्थानीयको सामाजिक शैक्षिक तथा आर्थिक रुपमा समेत विकास भइरहेको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ । सडक विस्तारले स्थानीयको जनजीवनमा परिवर्तन आउने भएकोले पछिल्लो समय गाउँपालिकाले यहाँका सबै वडामा सडक सञ्जालको पहुँच पुर्‍याउन जोड दिएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका स्थानीयबासीको पहिलो प्राथमिकता गाउँ बस्तीमै सडक पुर्‍याउने भएकोले गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकता दिँदै गएको हो ।”गाउँ बस्तीमा यसरी जोडिएको सडक सञ्जालले यहाँका स्थानीयलाई दैनिक उपभोग्यका समान ढुवानी गर्न निकै सहज बनेको छ ।

बर्खाको समयमा गाउँपालिकाका एक दुई वडामा गाडी पुर्‍याउन कठिन भएपनि हिउँदको समय भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिनु भयो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० 0५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट