October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको मतगणना वा पुन: मतदान गर्ने भन्ने विषयमा निर्वाचन आयूक्तहरुको राए बाजियो

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ 0५:५५
बाजुराको मतगणना  वा पुन: मतदान गर्ने भन्ने  विषयमा निर्वाचन आयूक्तहरुको राए बाजियो

बाजुरा–दलहरूबीच विवादले मतदान भएको दश दिन बितिसक्दा पनि गणना सुरु हुन नसकेको बाजुरामा पुनः मतदान वा गणना भन्नेमा निर्वाचन आयोग नै अनिर्णीत बनेको छ । विवादित केन्द्रमा पुनः मतदानको निर्णय गरेको आयोग बाजुरामा भने अनिर्णीत बनेको हो ।

मंगलबार पाँच घन्टासम्म बसेको बैठकमा आयुक्तहरूबीच राय बाझिँदा निर्णय हुन नसकेको एक आयुक्तले बताए । ‘दुईजना आयुक्तबाट आयोगको निष्ठाको सवाल भएकाले पुनः मतदान हुनुपर्छ भन्ने मत आयो । उहाँहरूको अडानका कारण निर्णयमा पुग्न सकिएन,’ उनले भने ।

बैठकको सुरुवातमा स्याङ्जा २ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन । वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो ।

निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरू बाँडिएका थिए । आयुक्तहरूले वस्तुस्थिति समेटिएको बाजुराको प्रतिवेदन अध्ययन गर्दै राय राखेका थिए । केही आयुक्तले स्याङ्जामा मरेका मान्छेले पनि भोट हालेको भन्ने आएकाले त्यस्तो मतलाई कसरी सदर मान्न सकिन्छ भनेर तर्क गरेका थिए । केही आयुक्तले भने मतपेटिका उठाउँदासम्म दलहरूकै सहमतिमा प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको, मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

दुवै प्रतिवेदनमा आयुक्तहरूको मत बाझिएपछि प्रमुख आयुक्त दिनेश थपलियाले बैठक स्थगित गरेका थिए । राति साढे ९ बजेसम्म पनि सहमति नजुटेपछि उनले कानुन शाखालाई प्रतिवेदन थप अध्ययन गर्न दिने र बिहान ११ बजे बैठक बसेर निर्णय गर्ने भन्दै स्थगित गरेका हुन् । ‘स्याङ्जा र बाजुराबाट आएको प्रतिवेदनमा स्पष्ट हुन नसकेकाले थप अध्ययन गरी निर्णय गर्ने कुरा भयो । आज १ बजेसम्म निर्णय दिन्छौँ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका अनुसार बाजुराका मुख्य निर्वाचन अधिकृतले मतदानका क्रममा कुनै समस्या नभएको प्रतिवेदन आयोगमा पठाएका थिए । पछि दलहरूबाट धाँधली भएको कुरा उठेको जानकारी गराएका थिए । बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुढीनन्दामा स्थगितबाहेक अरू ठाउँमा शान्तिपूर्ण मतदान भएको, दलहरूकै रोहवरमा मतपेटिका संकलन भएको र गणनामा सहमति हुन नसकेको, एमालेले १७ र कांग्रेसले १५ मतदान केन्द्रमा पुनः मतदान मागेको वस्तुस्थिति अवगत गराउँदै आयोगले आवश्यक ठानेमा जाँचबुझ गर्न सक्ने विकल्पसहित प्रतिवेदन पेस गरेको थियो ।

बाजुराको हकमा प्रमुख दलहरू पनि विभाजित छन् । एमालेले यहाँका विवादित केन्द्रमा पुनः मतदानको माग गरेको छ भने कांग्रेसले मतगणना थाल्न आयोगको ध्यानाकर्षण गराएको छ । बाजुराको त्रिवेणी, खप्तडछेडेदह, बुढीगंगा, बुढीनन्दा, हिमाली पालिकाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै केही दलहरूले पुनः मतदानको माग गरेका छन् भने केहीले कुनै विवाद नरहेको भन्दै गणना थाल्न माग गरेका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ 0५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट