December 9, 2024 | सोमवार, मंसिर २४, २०८१

गृहमन्त्री खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0१:५१
गृहमन्त्री  खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

काठमाडौं, पुस ८ । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या जहाको त्यहि छ ।
यसै भएर गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिएका थिए तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन ।
त्यस्ता निर्देशनले धेरैजसो हाकिम (उच्च अधिकृत)लाई नछुने भएकाले नै यस्तो समस्या देखिएको चर्चा प्रहरी सङ्गठनभित्रै हुने गर्दछ । सुरक्षा निकायको ‘चेन अफ कमान्ड’ अनुसार, ‘सुधार र परिवर्तन’ नेतृत्व तह (माथि)बाट सुरु हुनुपर्छ तर यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई बढी लक्षित हुने भएकाले प्रभावकारी हुन नसकेको हो ।

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन । गोरखापत्र दैनिकबाट

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0१:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट