
दोरेन्द्र खड्का बझाङ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङले पुस २ गते आयोजना गर्न लागेको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको छ। बझाङको सदरमुकाम चैनपुरमा हुने उक्त सभा भव्य र प्रभावकारी बनाउने गरी पार्टीले व्यापक तयारी गरेको छ।
बझाङ जिल्लामा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूबीचको एकता र सहकार्यलाई सशक्त सन्देश दिने उद्देश्यसहित सभा आयोजना गर्न लागिएको हो। कार्यक्रम स्थल व्यवस्थापन, झण्डा–ब्यानर सजावट, प्रचार–प्रसार तथा स्वयंसेवक परिचालनलगायतका कामहरू तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
मूल कार्यक्रमका संयोजक मीनबहादुर कुँवर ‘विश्वास’का अनुसार एकता सन्देश सभाको सम्पूर्ण तयारी लगभग सम्पन्न भइसकेको छ। उहाँले जिल्लामा वाम एकताको प्रभावकारी सन्देश प्रवाह गर्न यो सभा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त सभालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता डा. भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सभामा जिल्लाका विभिन्न स्थानबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेकपा बझाङले यो सभामार्फत राजनीतिक एकता, जनताको अधिकार र समसामयिक राष्ट्रिय मुद्दामा स्पष्ट सन्देश दिने तयारी गरेको जनाएको छ।
