सेतीकर्णाली खबर
उमेश जङ्ग शाही, बाजुरा असोज ३० ।
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ।
बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेको पाइएको छ।
दुर्घटनाको बारेमा जानकारी दिँदै प्रहरी चौकी जुड्डीका प्रमुख रमेश रावले सेती कर्णाली खबरलाई बताए अनुसार सो बसमा २३ जना यात्रु सवार थिए। दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।