किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् ।
जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ जना, २० गते ४ जना, २१ गते २ जना, २४ गते ३ जना, २५ गते २ जना, २६ गते ४ जना, २७ गते २ र २८ गते (आज) ४ जनामा डेंगुका सङ्क्रमित फेला परेका हुन् ।
डेंगुका सङ्क्रमित मध्ये १२ जना पुरुष र १५ जना महिला हुन् । दिपायल सिलगढी नगरपालिकाका ११ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र के।आई।सिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेङ्गुको सङ्क्रमण फैलिने गरेको छ । यो वर्ष डोटीमा यसको सङ्क्रमण उकालो लाग्ने क्रममा छ । एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धति विकास नभएको भए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहले बताए ।
ज्वरो आउने, हड्डीका जोर्नीहरू दुख्ने, टाउको दुख्ने, आँखाका गेडीहरू दुख्ने, सामान्यतया बान्ता हुने, शरीर दुख्ने यश रोगका मुख्य लक्षण हुन् । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न डाक्टर शाहले आग्रह गरे । डेंगु कडा खालको ज्वरो भएकाले सतर्कता अपनाउनु पर्ने चिकित्सकको भनाई छ । राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर रहेका पानी जमेका खाल्डाखुल्डी पुर्ने, गमला, गाडीका टायर लगायतका ठाउँमा पानी जम्न नदिने घर वरपर सफा राखेमा पनि केही हदसम्म डेंगुबाट बच्न सकिने डाक्टर शाह बताए ।