आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले बझाङ जिल्लाबाट अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ। पार्टी केन्द्रीय नेतृत्वले अन्तिम निर्णय गर्दै ओखेडालाई उम्मेदवार चयन गरेसँगै जिल्लाको राजनीतिक वातावरण तातेको छ। जिल्ला कमिटीको औपचारिक सिफारिस सूचीमा नामै नपरेका ओखेडा उम्मेदवार बन्नुले एमाले बझाङभित्र असन्तोष र बहसलाई चर्काएको छ।
एमाले बझाङ जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि पहिलो नम्बरमा अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने ऐन महर, दोस्रो नम्बरमा मोहन जोशी र महिलातर्फ धनलक्ष्मी खत्रीलाई सिफारिस गरेको थियो। तर अन्तिम निर्णयमा केन्द्रले जिल्लाको सिफारिस पूरै बेवास्ता गर्दै सिफारिसमै नपरेका अफिलाल ओखेडालाई उम्मेदवार घोषणा गरेको हो। यस घटनाले पार्टीभित्र जिल्ला बनाम केन्द्र को बहसलाई फेरि सतहमा ल्याएको छ।
जिल्लाबाट सिफारिस गरिएका सबै उम्मेदवार ‘रिङ आउट’ हुँदै केन्द्रबाट नयाँ नाम अघि सारिएपछि एमालेका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूबीच “केन्द्रमा कसको पहुँच बलियो ?” भन्ने प्रश्न खुलेर उठ्न थालेको छ। विशेष गरी ओलीनिकट भनेर चिनिएका ऐन महरसमेत उम्मेदवार नबन्नु पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन आएको संकेतका रूपमा हेरिन थालेको छ।
ऐन महर एमाले केन्द्रीय समिति सदस्य, पूर्व अनेरास्ववियु नेता तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २७ हजार १४५ मत ल्याएका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। यस्तो पृष्ठभूमि भएका नेता उम्मेदवारीबाट बाहिरिनुले केन्द्रभित्रको आन्तरिक रणनीति, गठबन्धनको समीकरण र जितको सम्भावनालाई प्राथमिकता दिइएको हुनसक्ने विश्लेषण हुन थालेको छ।
उता अफिलाल ओखेडा भने संगठन, अनुभव र आन्तरिक नेटवर्कका हिसाबले बलिया नेता मानिन्छन्। उनी संविधानसभा सदस्य भइसकेका छन् भने हाल एमाले केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा छन्। पार्टी संगठन, राज्य सञ्चालनको अनुभव र केन्द्रसँगको निकट समन्वयका कारण ओखेडालाई पार्टीले रणनीतिक रूपमा ‘सेफ क्यान्डिडेट’ का रूपमा अघि सारेको कतिपय एमाले नेताहरूको बुझाइ छ।
तर उम्मेदवार चयन प्रक्रियामा जिल्ला कमिटीको भूमिका कमजोर पारिँदा पार्टीभित्र असन्तोष र अविश्वास गहिरिँदै गएको देखिन्छ। केही स्थानीय नेताहरूले सिफारिस प्रक्रिया औपचारिकतामा सीमित भएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाउन थालेका छन्। यसले आगामी दिनमा संगठन परिचालन र चुनावी अभियानमा असर पार्न सक्ने चिन्ता पनि देखिएको छ।
एमाले बझाङमा उम्मेदवार चयनको यो निर्णयले चुनावी प्रतिस्पर्धा मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन, आन्तरिक लोकतन्त्र र केन्द्र–जिल्ला सम्बन्धमाथि समेत प्रश्न उठाएको छ। ऐन महर बाहिरिनुको वास्तविक कारण र अफिलाल ओखेडा अघि सारिनुको रणनीतिक पृष्ठभूमि के हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
अब सबैको ध्यान अफिलाल ओखेडाले पार्टीभित्रको असन्तोष कसरी व्यवस्थापन गर्छन् र विपक्षी दलसँगको चुनावी प्रतिस्पर्धामा एमालेको अवस्थालाई कति बलियो बनाउन सक्छन् भन्नेमा केन्द्रित भएको छ।