October 10, 2026 | शनिबार, अशोज २४, २०८३

सत्यवादी माध्यमिक विद्यालयमा अध्यक्ष सम्राट सिंहको नेतृत्वमा वि.व्य.स. टिमको १०० दिन

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २०, २०८३ 0१:४0
सत्यवादी माध्यमिक विद्यालयमा अध्यक्ष सम्राट सिंहको नेतृत्वमा वि.व्य.स. टिमको १०० दिन

>कुनै पनि संस्थाको नेतृत्वको मूल्याङ्कन पद प्राप्त गरेको दिनबाट होइन, जिम्मेवारी सम्हालेपछि देखिएको कार्यदिशा र त्यसले जन्माएको परिणामबाट हुन्छ। यही दृष्टिकोणबाट हेर्दा सत्यवादी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्राट सिंहले जिम्मेवारी सम्हालेपछिको १०० दिनलाई प्रारम्भिक सुधार र संस्थागत रूपान्तरणको आधार तयार गर्ने अवधिका रूपमा लिन सकिन्छ।

<>२०८३ असार १३ गते जिम्मेवारी सम्हालेका सिंहको नेतृत्वमा वि.व्य.स. टिमले विद्यालयका तत्कालीन समस्या पहिचान गर्दै विद्यार्थी सुरक्षा, शैक्षिक गुणस्तर, अनुशासन, पूर्वाधार, खेलकुद, पुस्तकालय, आर्थिक पारदर्शिता तथा पूर्वविद्यार्थी र समुदायसँगको सहकार्यलाई क्रमशः अघि बढाएको छ। यी कामलाई व्यक्तिकेन्द्रित उपलब्धिभन्दा पनि सामूहिक व्यवस्थापकीय अभ्यास र संस्थागत सुधारको प्रयासका रूपमा बुझ्नुपर्ने देखिन्छ।

1. विद्यार्थी सुरक्षाबाट सुधारको सुरुवात

विद्यालयको मुख्य गेटनजिक जोखिमपूर्ण अवस्थामा रहेको विद्युत् पोल तथा लाइन विद्यार्थी सुरक्षाका दृष्टिले लामो समयदेखि संवेदनशील विषय थियो। सम्बन्धित निकायसँगको समन्वय र निरन्तर पहलपछि उक्त संरचना स्थानान्तरण गरिएको छ। सामान्य देखिए पनि विद्यालयको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो समस्या समाधान हुनु व्यवस्थापनको प्राथमिकता निर्धारणसँग सम्बन्धित महत्वपूर्ण काम हो।

2. भौतिक संरचनाको मर्मत र विद्यालय वातावरण

विद्यार्थीको सुरक्षित र मर्यादित वातावरणका लागि क्षतिग्रस्त कम्पाउन्ड वाल तथा पुराना शौचालय मर्मत गरिएको छ। विद्यालय परिसरलाई केवल भौतिक संरचनाको समूह नभई सिकाइको वातावरणका रूपमा विकास गर्ने उद्देश्यले “सर्वे भवन्तु सुखिनः” र “सर्वे भद्राणि पश्यन्तु” जस्ता सन्देशसहित भित्तेचित्र निर्माण गरिएको छ।

पुरानो संरचना व्यवस्थापन, नयाँ भवन निर्माण तथा छात्रावासको थप संरचनासम्बन्धी काम पनि अघि बढाइएको छ। यसले तत्कालीन मर्मतसँगै दीर्घकालीन पूर्वाधार विकासतर्फको सोचलाई संकेत गर्छ।

3. शैक्षिक गुणस्तरलाई केन्द्रमा राख्ने प्रयास

विद्यालयको वास्तविक सफलता भवन वा संरचनाले होइन, विद्यार्थीले हासिल गर्ने ज्ञान, सीप र व्यवहारबाट मापन हुन्छ। यही पक्षलाई ध्यानमा राख्दै प्रथम त्रैमासिक परीक्षाको नतिजा समीक्षा गरी विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्ने काम अघि बढाइएको छ।

>नतिजामा कमजोर देखिएका विद्यार्थीलाई दोषी ठहर गर्नेभन्दा उनीहरूलाई थप सहयोग, नियमित मूल्याङ्कन तथा शिक्षक–अभिभावक समन्वयमार्फत सुधार गर्ने दृष्टिकोण अघि सारिएको छ। यो अभ्यास निरन्तर र परिणाममुखी बन्न सके शैक्षिक सुधारको महत्वपूर्ण आधार बन्न सक्छ।

4. शिक्षकको जिम्मेवारी र नेतृत्वबीचको सहकार्य

शैक्षिक गुणस्तरको केन्द्रमा शिक्षक हुन्छन्। त्यसैले शिक्षकको नियमित उपस्थिति, समयपालना, जिम्मेवारीबोध तथा प्रभावकारी शिक्षणमा जोड दिइएको छ। राम्रो कार्यसम्पादनलाई सम्मान र प्रोत्साहन गर्ने वातावरण निर्माण गर्ने प्रयास पनि गरिएको छ।

यस क्रममा प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीको सकारात्मक सहयोग, समन्वय र सहजीकरणलाई विद्यालय सुधारको महत्वपूर्ण पक्षका रूपमा लिन सकिन्छ। वि.व्य.स.को व्यवस्थापकीय भूमिका र प्रधानाध्यापकको शैक्षिक तथा प्रशासनिक जिम्मेवारीबीचको समन्वय प्रभावकारी भए मात्र सुधार संस्थागत हुन सक्छ।

5. अनुशासनमा दण्डभन्दा संवाद

विद्यार्थी अनुशासनलाई नियन्त्रणको विषय मात्र नभई संस्कार र जिम्मेवारी विकासको विषयका रूपमा अघि बढाउने प्रयास गरिएको छ। अनुशासन तथा व्यवहारमा समस्या देखिएका विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर अध्ययन, व्यवहार र प्रगतिबारे छलफल गर्ने अभ्यास सुरु गरिएको छ।

यसको मूल उद्देश्य कारबाहीभन्दा सुधार, निगरानीभन्दा संवाद र व्यक्तिगत कमजोरीभन्दा साझा जिम्मेवारीको भावना विकास गर्नु हो। विद्यालय र घरबीचको सम्बन्ध बलियो बनाउन यस्तो अभ्यास उपयोगी हुन सक्छ।

>6. पुस्तकालय र पठन संस्कृतितर्फ ध्यान

<span;>शिक्षाको गुणस्तर पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन। पठन संस्कृति विकासका लागि पुस्तकालयलाई व्यवस्थित र विद्यार्थीमैत्री बनाउने काम अघि बढाइएको छ। पुस्तकालय कर्मचारी छनोटमा सार्वजनिक सूचना, आवेदन, मूल्याङ्कन तथा निर्धारित प्रक्रियालाई आधार बनाइनु संस्थागत पारदर्शिताको अभ्याससँग जोडिएको विषय हो।

7. खेलकुदलाई शिक्षाकै हिस्सा बनाउने प्रयास

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई पनि विद्यालयको शैक्षिक गतिविधिसँग जोडिएको छ। टेबलटेनिसका लागि ट्रस निर्माणको काम अघि बढाइएको छ।

जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा टेबलटेनिस तथा चेस प्रतियोगिता सञ्चालन गरी विद्यार्थी तथा शिक्षकलाई सहभागी गराइएको थियो। यस्ता गतिविधिले प्रतिस्पर्धासँगै अनुशासन, आत्मविश्वास र सहकार्यको संस्कार विकास गर्न सहयोग पुर्‍याउँछन्।

8. आर्थिक पारदर्शितालाई व्यवस्थापनको आधार बनाउने प्रयास

विद्यालय सञ्चालनमा आर्थिक पारदर्शिता केवल हिसाब–किताबको विषय होइन, संस्थाप्रतिको विश्वास निर्माण गर्ने आधार पनि हो। १०० दिनको अवधिमा आम्दानी–खर्चलाई व्यवस्थित गर्ने तथा उपलब्ध स्रोतको पारदर्शी र उद्देश्यपूर्ण प्रयोगमा जोड दिइएको छ।

विद्यालयका स्रोत विद्यार्थीको हित, शैक्षिक गुणस्तर र संस्थागत विकासमा केन्द्रित गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ।

9. स्थानीय तहसँग निरन्तर समन्वय

विद्यालय सुधारका लागि विद्यालयभित्रको व्यवस्थापन मात्र पर्याप्त नहुने भएकाले स्थानीय तहसँगको समन्वयलाई पनि प्राथमिकता दिइएको छ। जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल, उपप्रमुख रतनबहादुर सिंह तथा शिक्षा शाखा प्रमुख निरजप्रसाद रेग्मीसँग विद्यालयको शैक्षिक, भौतिक तथा समग्र सुधारका विषयमा निरन्तर छलफल र समन्वय भइरहेको छ।

विद्यालयका आवश्यकता, पूर्वाधार विकास, शैक्षिक गुणस्तर तथा आगामी योजनाका विषयमा स्थानीय सरकारसँग संवाद  भईरहेकाे छ।

  • सेती कर्णाली खबर
  • -