October 9, 2026 | शुक्रबार, अशोज २३, २०८३

स्वामिकार्तिक खापरमा स्थानीय शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज २२, २०८३ 0५:३९
स्वामिकार्तिक खापरमा स्थानीय शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

सेतीकर्णाली खबर

शारदा शाही असोज २२
बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय शिक्षा योजना र प्राथमिकतामाथि छलफल तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
गाउँपालिकाको कार्यालयमा २०८३ असोज २१ गते आयोजित कार्यशाला गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रमेशराज भण्डारी, स्वामिकार्तिक इलाका प्रहरी  कार्यलय प्रमुख कर्ण बहादुर बुढा,स्वामिकार्तिक माध्यमिक विद्यालय, कुलादेवी माध्यमिक विद्यालय र रुपाली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षहरू र विद्यार्थी तथा बालबालिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख दयाराम जोशीले गर्नुभएको थियो।
कार्यशालामा गाउँपालिकाको १० वर्षे शिक्षा योजना, शिक्षा क्षेत्रका प्राथमिकता, समावेशी तथा गुणस्तरीय शिक्षा, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच र विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
स्थानीय सरकार, विद्यालय र समुदायबीच समन्वय गरी शिक्षा क्षेत्रका प्राथमिकता पहिचान गर्ने, स्पष्ट भूमिका तथा जिम्मेवारी निर्धारण गर्ने र तत्काल कार्यान्वयन गर्न सकिने स्थानीय कार्ययोजना (LEP) तयार गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।
कार्यक्रममा प्रस्तुत समीक्षा अनुसार १० वर्षे शिक्षा योजनाका विभिन्न सूचकहरूको अवस्थाबारे छलफल गर्दै कमजोर देखिएका पक्षमा आवश्यक सुधारका लागि कार्ययोजना, बजेट, जिम्मेवारी र प्रभावकारी अनुगमन प्रणालीलाई जोड दिनुपर्ने आवश्यकता औँल्याइएको संस्थाका प्रतिनिधि  बलमान धामिले सेतीकर्णाली खबरलाई जानकारी दिनु भयो।
कार्यशाला ACCESS परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। परियोजनाको उद्देश्य मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नागरिक समाजको भूमिका सुदृढ गर्दै सबैका लागि गुणस्तरीय, समतामूलक र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गर्नु रहेको जनाइएको छ।
तस्बिर : कार्यशालामा सहभागी गाउँपालिका, विद्यालय, सुरक्षा निकाय तथा सरोकारवालाहरू।

  • सेती कर्णाली खबर
  • -