September 8, 2026 | मङ्लबार, भदौ २३, २०८३

चैनपुर सहरी खानेपानीको अध्यक्षमा युवा व्यवसायी लोकेन्द्र खड्काको बलियो उम्मेदवारी

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ २३, २०८३ १६:0८
चैनपुर सहरी खानेपानीको अध्यक्षमा युवा व्यवसायी लोकेन्द्र खड्काको बलियो उम्मेदवारी

चैनपुर — चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति चयनका लागि आगामी २०८३ साल भदौ २४ गते हुने निर्वाचनमा युवा व्यवसायी लोकेन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। संस्थालाई आधुनिक, व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित खड्काले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्।
चैनपुर बजार तथा आसपासका उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको प्रभावकारी व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता बनेको अवस्थामा खड्काको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। खानेपानीको नियमित आपूर्ति, वितरण प्रणालीको सुधार, संस्थाको आर्थिक पारदर्शिता, सरसफाइ तथा उपभोक्ताका गुनासा सम्बोधन गर्ने विषयलाई उनले आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।
युवा व्यवसायीका रूपमा आफ्नो अनुभव र व्यवस्थापन क्षमतालाई संस्थाको नेतृत्वमा प्रयोग गर्ने उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी दिएको खड्काको भनाइ छ। उनी निर्वाचित भएमा संस्थालाई व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि राखेर उपभोक्ताको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खड्काले खानेपानी संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। पुराना तथा जीर्ण संरचनाको सुधार, पाइपलाइन विस्तार तथा मर्मत, पानीको स्रोत संरक्षण, नियमित आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई उनले प्राथमिकतामा राख्ने बताएका छन्।
त्यस्तै, संस्थाको आम्दानी–खर्चमा पूर्ण पारदर्शिता, नियमित सार्वजनिक जानकारी, उपभोक्ताप्रति जवाफदेहिता र संस्थागत सुशासन आफ्नो नेतृत्वको मुख्य आधार हुने उनको दाबी छ। उपभोक्ताबाट उठ्ने शुल्कको उचित व्यवस्थापन गर्दै त्यसको प्रभावकारी उपयोग हुनुपर्नेमा उनले जोड दिएका छन्।
खड्काले प्रविधिको प्रयोगमार्फत खानेपानी संस्थाको प्रशासनिक तथा सेवा प्रणालीलाई सहज बनाउने योजनासमेत अघि सारेका छन्। उपभोक्ताका गुनासा तथा समस्यालाई समयमै सम्बोधन गर्न प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली विकास गर्ने र संस्थाका गतिविधिलाई उपभोक्तामाझ नियमित रूपमा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ।
“खानेपानी संस्था कुनै व्यक्ति वा समूहको होइन, सम्पूर्ण उपभोक्ताको साझा संस्था हो” भन्ने मान्यताका साथ काम गर्ने बताउँदै खड्काले संस्थालाई सबै उपभोक्ताको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्ने बताएका छन्।
चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्ष पदका लागि खड्काको उम्मेदवारीसँगै युवा नेतृत्व र संस्थाको व्यवस्थापन सुधारको विषय थप चर्चामा आएको छ। व्यवसायिक अनुभव, नयाँ सोच र युवा नेतृत्वलाई संस्थाको जिम्मेवारी दिनुपर्ने पक्षमा रहेका उपभोक्ताहरूका लागि उनको उम्मेदवारी महत्वपूर्ण विकल्पका रूपमा देखिएको छ।
आगामी भदौ २४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारहरूले अघि सार्ने कार्ययोजना, उपभोक्ताप्रतिको प्रतिबद्धता, संस्थागत सुधारको दृष्टिकोण र विगतको योगदानका आधारमा उपभोक्ताले नेतृत्व चयन गर्नेछन्।
खड्काले आफूलाई अध्यक्षमा निर्वाचित गराएमा खानेपानी संस्थालाई पारदर्शी, जवाफदेही, प्रविधिमैत्री र उपभोक्तामुखी संस्था बनाउने तथा खानेपानी सेवाको गुणस्तर र नियमिततामा सुधार ल्याउन आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अबको निर्वाचनले चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्व मात्र चयन गर्ने नभई संस्थाको आगामी कार्यदिशासमेत निर्धारण गर्ने भएकाले अध्यक्ष पदमा खड्कासहितका उम्मेदवारको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।

  • सेती कर्णाली खबर
  • -