
सेतीकर्णाली खबर उमेश जङ्ग शाही
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा आयोजित बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। दसैँको अवसरमा आयोजित उक्त मेलामा देउडा खेल, घोडचढी खेल, धार्मिक पूजाआजा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
मेलाको तेस्रो दिन चर्चित देउडा खेलाडी बलबहादुर शाही (डबल शाही), शंकर मल्ल ठकुरी, केसरी बोहोरा, धनबहादुर रोकाया, वीर बम, नैनजंग शाही, केन्द्र शाही, कालीबहादुर शाही, समुद्र बुढा, गंग शाही लगायत स्थानीय देउडा खेलाडीहरूले आफ्नो बेजोड प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले मेलामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याएको थियो।
कार्यक्रममा आयोजक व्यवस्थापन समितिका अध्यक्ष मेघराज शाहीको अध्यक्षता रहेको थियो भने जिल्ला विकास समितिका पूर्व उपसभापति रंगमान शाही प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट आमन्त्रित देउडा खेलाडीहरू विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी कुन्ना क्षेत्रका समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, कर्मचारी , पत्रकार तथा राजनीतिज्ञहरूको समेत उपस्थिति रहेको थियो।
मेलाअन्तर्गत नवमीको दिन कालिका नवदुर्गा भवानीको विधिपूर्वक पूजाआजा तथा आराधना गरिएको थियो। धार्मिक परम्पराअनुसार राँगा बलि दिने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। साथै, देउडा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुका साथै समाजमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
आर्थिक सहयोगी र सुरक्षाकर्मीलाई सम्मान
बडादसैँ तथा बृहत् सांस्कृतिक मेला सफलतापूर्वक सम्पन्न गर्न पाँच हजार भन्दा माथि आर्थिक सहयोग गर्ने चतुरभुज शाही, उमेश शाही , भुवन शाही, हिमाल शाही लाई लगायत विभिन्न व्यक्तिहरूलाई आयोजक समितिले सम्मान गरेको छ। त्यस्तै, मेलाका क्रममा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय स्वामीकार्तिकलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ। मेला व्यवस्थापनका लागि स्वामिकार्तिक खापर गाउपालिकाले र जुकोटका स्थानियहरुले गरेको देखिन्छ। मेलाको समीक्षा र व्यवस्थापन खर्च सार्बजनिक सुनुवाइ गरिने आर्थिक संयोजक गोरख शाहीले बताउनु भयो।
स्थानीय कला, संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलाले जुकोट क्षेत्रको सांस्कृतिक पहिचानलाई उजागर गरेको साँस्कृतिक मेलाका अध्यक्ष मेघराज शाहीले बताउनु भयो। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै स्थानीय समुदायबीच आपसी एकता र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको प्रमुख अतिथि शाहीको भनाइ रहेको छ।
आयोजक व्यवस्थापन समितिको सक्रियता, स्थानीयवासीको सहभागिता, आर्थिक सहयोगीहरूको योगदान तथा सुरक्षाकर्मीको सहयोगमा जुकोट बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।
