May 27, 2026 | बुधबार, जेष्ठ १३, २०८३

कर्णालीमा फेरि अवरुद्ध यातायात : स्वामिकार्तिकका नागरिक कहिलेसम्म जोखिममा ?

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १३, २०८३ 0९:३२
कर्णालीमा फेरि अवरुद्ध यातायात : स्वामिकार्तिकका नागरिक कहिलेसम्म जोखिममा ?

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही १३ जेठ  बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकालाई जोड्ने कर्णाली नदीमा पानीको बहाव बढेसँगै गाडी तार्ने किस्ती (फेरी सेवा) पुनः प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै नदीमा बहाव बढ्दा सवारी साधन वारपार गराउने सेवा अवरुद्ध हुँदा स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा यातायात तथा ढुवानी सेवा ठप्प बनेको स्थानीय वीर बहादुर रोकायाले बताएका छन्।
जगन्नाथ गाउँपालिकाको पिलुचौर बजार कर्णाली करिडोरसँग जोडिएको मुख्य व्यापारिक केन्द्र हो। यही नाकाबाट स्वामिकार्तिक क्षेत्रका लागि खाद्यान्न, निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान ढुवानी हुँदै आएको छ। तर कर्णाली नदीमा स्थायी पक्की पुल नहुँदा हरेक वर्ष स्थानीय नागरिकले सास्ती भोग्दै आएका छन्।
हिउँदमा नदीको बहाव कम हुँदा किस्तीमार्फत गाडी तार्ने काम सञ्चालन गरिए पनि वर्षायाममा पानी बढेपछि फेरी सेवा बन्द हुने गरेको छ। यसले बिरामी ओसारपसार, खाद्यान्न आपूर्ति, निर्माण सामग्री ढुवानी तथा यात्रु आवागमनमा ठूलो समस्या सिर्जना गरेको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार वर्षौंदेखि कर्णाली नदीमा पक्की पुल निर्माणको माग उठ्दै आए पनि हालसम्म दिगो समाधान हुन सकेको छैन। “हरेक वर्ष यही समस्या दोहोरिन्छ, वर्षा लागेपछि यातायात बन्द हुन्छ, विकासका काम रोकिन्छन्,” भन्दै स्थानिय रेखम शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिए।
कर्णाली करिडोरसँग प्रत्यक्ष जोडिने रणनीतिक स्थानमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाका नागरिकले अब अस्थायी फेरी होइन, स्थायी पक्की पुल र वर्षभर सञ्चालन हुने सुरक्षित यातायातको अति आवश्यक रहेकोछ। स्वामिकार्तिक खापर गाउपालिका वडा ५ जेरा देखि ३ किलोमिटर टाढा रहेको मुगु जिल्ला खत्याड गाउपालिकाको सुकाडिक झुँगलामा बेलिबृज बिगत ३ वर्ष देखि सञ्चालनमा छ त्यहि बेलिबृज सम्म स्वामिकार्तिकको सडक सञ्जाल जोड्नको लागि सुदूरपश्चिम प्रदेशका माननीय तथा पुर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको पहलमा करिब एक किलोमिटर सडक निर्माण भइसकेको छ भने करिब २ किलो मिटर सडक निर्माण नभएका कारण स्वामिकार्तिक खापर गाउपालिका प्रत्यक वर्षायाममा यातायात सेवाबाट संधै बञ्चित हुँदै आएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १३, २०८३ 0९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट