October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० 0२:४१
स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ ।

यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ कानुुन ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा उत्पादित घरेलु मदिरा तथा मदिराजन्य पदार्थ र जिल्ला बाहिरबाट आयात हुने जनसुकै प्रकारको मदिरा बिक्रि वितरणमा कडाई अध्यक्ष रोकायाले बताए ।

गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि तथा सेवनलाई व्यवस्थित गर्न सेवनकर्ताका लागि मदिरा कार्ड अनिवार्य गरिने भएको छ । सेवनकर्ताका बिक्रिकर्ताले पनि गाउँपालिकाबाट अनुुमति लिनुुपर्ने भएको छ । त्यसक्रममा सेवनकर्ताले दैनिक एक सय ८० एमएल मदिरा र वियर एक बोतल मात्रै सेवन गर्न पाईने र सो वाफत बार्षिक एकमुष्ट पाँच सय रुपैया तिर्नुपर्ने भएको छ । त्यस बाहेक अतिथि कार्डसमेत जारी हुने भएको छ ।

साथै मदिराको थोक बिक्रिकर्ता र ओसारपसार कर्ताले थोक बिक्रि कर्तालाई विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मात्र बिक्रि वितरण गर्न पाइने नियम बनाइएको छ । सेवनकर्तालाई बेलुका ६ बजेदेखि राति ९ बजेसम्म मात्रै बिक्रि वितरण गर्नुपर्ने छ । यदि कसैले मदिरा पसल सञ्चालन गर्न चाहेमा विद्यालय, स्वास्थ्य केन्द्र जस्ता सार्वजनिकस्थल भन्दा एक सय मिटर टाढाको दुरिमा राख्नुु पर्ने छ ।

मदिरा नियन्त्रण तथा ब्यवस्थापनका लागि प्रत्येक वडामा वडा अध्यक्ष वडा वडाअध्यक्षले तोकेको ब्यक्ति संयोजक रहने गरी सात सदस्यीय समिति गठन गर्ने र सो समितिले प्रत्येक महिनाको एक पटक अनुगमन गरी तायार पारिएको प्रतिवेदन गाउँपालिकालाई बुझाउनुु पर्ने भएको छ ।

मदिरा सेवनकर्ताले आवश्यक्ता अनुसार दैनिक रुपमा सेवन गर्नका लागि गाउँपालिकामा नाम दर्ता गर्नु पर्ने र मदिरा परिचय पत्र अनिवार्य बनाउनु पर्ने गाउँपालिकाले जनाएको छ । यो संगै कुनै पनि ब्यक्तिले अनुमति पत्र बिना र अनुमति पाएकोले पनि अनुमति पत्रमा तोकिएको सर्त बाहेक मदिरा उत्पादन, बिक्रि तथा सेवन गर्न नमिल्ने भएको छ । अनुमति पत्रमा तोकिए बमोजिम बाहेक कुनै पनि मदिरा खुवाउने वार वा रेष्टुरेन्टमा पसल राख्न नपाईने कार्यविधिमा उल्लेख भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताए ।

गाउँपालिका भित्र कसैले प्लाष्टिकको पोका वा प्लाष्टिकको बोतलमा मदिरा राखेर मदिराको उत्पादन तथा बिक्रि वितरण गर्न नपाइने भएको छ । साथै, १८ वर्ष पुरा नगरेको ब्यक्तिलाई मदिरा बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको छ । मदिरा बिक्रि वितरण तथा ओसारपसारका लागि गाउँपालिकाबाट अनिवार्य अनुमति पत्र लिनु पर्ने ब्यवस्था गरिएको छ ।

कुनै पनि ब्यक्तिले अनुमति पत्र नलिएर वा तोकिएको सर्त पालना नगरेमा कानुनी कारवाही हुने भएको छ । मदिरा सेवनकर्ताले कुनै पनि ठाउँमा होहल्ला, गाली बेइज्जती तथा झैझगडा गर्न नपाईने र गरेमा जरिवाना गरिने भएको छ । मदिरा सेवन गरी झैझगडा गर्ने ब्यक्तिलाई पहिलो पटक तीन हजार, सोही कसुर दोहोरिएमा पटक पिच्छे एक हजार थप हुने गाउँपालिकाले बनाएको नियममा उल्लेख छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मदिरा बिक्रि वितरण तथा ओसारपसारका लागि एक मात्रै होलसेल मदिरा पसल र ओसारपसार मदिरा पसलका लागि सिफारिस दिने जनाईएको छ । मदिरा बिक्रि वितरण, ओसार पसार र उत्पादनकर्ताले यस कार्यविधिको उलंघन गरेमा पहिलो पटक १० हजार, घटना दोहोरिएमा पटकपिच्छे कसुर दोहोर्याएमा २० हजारका दरले जरिवाना बढ्दै जाने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकावासीको सदाचार, स्वास्थ्य सुविधा तथा आर्थिक हीत कायम गर्दै समुदायलाई सभ्य, शान्त तथा सकरात्मक बाटोमा अग्रसर बनाउन मदिराको नियन्त्रण तथा ब्यवस्थापन गर्न वाच्छनीय भएकोले नेपालको संविधान २०७२ को धारा २१६ वमोजिम तथा सुदुरपश्चिम प्रदेशको स्थानिय तहको कानुुन निमार्ण प्रक्रियाका सम्वन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ मा टेकेर गाउँपालिकाले आजबाट मदिरा नियन्त्रण ब्यवस्थापन कार्यविधि लागु गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० 0२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट