October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रैथाने बालीहरूको प्रवर्द्धन गर्नका लागि स्वामीकार्तिकमा जैविक विविधता ब्लक स्थापना

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २९, २०८० १५:२७
रैथाने बालीहरूको प्रवर्द्धन गर्नका लागि स्वामीकार्तिकमा जैविक विविधता ब्लक स्थापना

सेतिकर्णाली खबर

बाजुरा /स्वामीकार्तिक खापर गाउँपालिकाले जैविक विविधता ब्लक स्थापना गरेको छ । जैविक विविधता संरक्षण, पहिचान उत्पादन अवरोधहरूको समाधान र रैथाने बालीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं ५ जेरामा ब्लक स्थापना गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिका र जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल लिवर्डको  ग्रेप.एफ.ए.टु परियोजनाको संयक्त सहकार्यमा वडा न. ५–जेरा गाउँमा ब्लक स्थापना गरेको बताइएको छ ।

जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव, विश्वको कृषि उत्पादनमा २२ प्रतिशत प्रभाव पार्ने अनुमान, विश्वभर हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०२७% भए पनि जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो स्थानमा रहेको जस्ता विषयलाई मध्यनजर गर्दै ब्लक स्थापना गरीएको गाउँपालिकाले जनाएको छ । जलवायू परिवर्तनले नेपालभरी प्रभाव परीरहेका बेला बाजुरा जस्ता पहाडी क्षेत्र बढी जोखिममा परेका छन् । बाजुरामा सामान्यतया र स्वामीकार्तिक खापर गाउँपालिका विशेष गरी प्रत्येक वर्ष यस्तो प्रभावमा परीरहेको छ ।

जैविक विविधतामा ह्रास, रोग र कीराको प्रकोप, खडेरी, अनियमित वर्षा, कम उत्पादन, असिनापानी, बाढी, पहिरो, भू–क्षय, खडेरी, वन डढेलो लगायतका प्रकोपबाट कृषिमा प्रभाव पारेको कृषि शाखा प्रमुख विनोद शाहीले बताए। यसरी कृषिमा प्रभाव पर्दा रैथाने बालीको ह्रास हुनु स्वामिकर्तिकमा मुख्य चुनौती रहेको पनि उहाँले बताउनुभयो । स्थानीय स्तरमा उत्पादन हुँदै गएको रैथानेबालीको खेतीबाट किसान अन्य व्यवसायमा सर्दै गएका र गाउँबाट युवा पलायन हुने क्रम पनि वर्षेनी बढ्दै गएको बताए।

त्यस्तै स्वदेशी बालीको विविधता हराउनुको मुख्य कारण प्राविधिक ज्ञान, उत्पादन र बजारीकरणको अवरोध भएको लिवर्ड परियोजनाका अधिकृत कैलाश भट्टले बताउनुभएको छ । रैथानेबाली उत्पादन तथा प्रयोगमा देखिएका समस्या तथा चुनौतीलाई मध्यनजर गर्दै चिनो, कागुनो, कोदो, झुम्रो, लट्टे, फापर, मकै, धान, सिमि, भटमास र जुनेलो) र यसका जातहरु (स्थानीय र उन्नत दुवै किसिमका) गरी कुल ५० वटा प्रदर्शनी प्लट निर्माण गरिएको उहाँले बताउनुभयो । रैथाने बालीको प्रयोग, उत्पादन, महत्व दर्शाउने ब्लक स्थापना कार्यक्रममा कृषि शाखा स्वामीकार्तिकका प्रमुख विनोद शाही, लिवर्ड परियोजनाका अधिकृत कैलाश भट्ट, नायव प्राविधिक सहायक तीर्थराज बुढा, वडा अध्यक्ष, सहित २० जना अन्य किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ब्लक स्थापनाको उदेश्य तथा गतिबिधि माथि लिबर्ड तथा गाउपालिका कृषि शाखाका कर्मचारीहरुले किसानहरूलाई जानकारी गराउँदै प्रत्येक प्लटको नियमित तथ्याङ्क सहभागितामूलक विधिद्वारा लिइने विषयमा जानकारी गराइएको छ । किसानहरूलाई सङ्कलन गरिएको तथ्याङ्क (बोट वृद्धि तथा उत्पादन क्षमताका विशेषताहरू) अवलोकन गराइने छ । यो कार्यक्रम एक किसिमको कृषक पाठशाला जस्तै भएकाले किसानले आफैले बालीहरूको रूपात्मक र उत्पादन विशेषताहरू अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २९, २०८० १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट