सेतीकर्णाली खबर
दोरेन्द्र खड्का असार २५ बझाङ – नेपाल सरकारले राहत शिक्षकको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै नेपाल राहत शिक्षक समितिले आइतबार देशव्यापी रूपमा आयोजना गरेको विरोध सभा कार्यक्रम बझाङको जयपृथिवी नगरपालिकामा पनि सम्पन्न भएको छ।
राहत शिक्षक समिति नगर सचिव श्याम नेपालका अनुसार लामो समयदेखि विद्यालय शिक्षक विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहँदै आएको छ। तर, विधेयकमा राहत शिक्षकको स्थायी व्यवस्थापनका विषयमा विगतका सम्झौता र स्थापित नजिरलाई सरकारले अस्विकार गरेको भन्दै विरोध सभा आयोजना गरिएको हो।
समितिले विगतमा भएको सम्झौता अनुसार राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि लबिङ गर्दै आएको तर सरकार त्यसतर्फ गम्भीर नभएको आरोप लगाएको छ। यसै कारण देशभरका राहत शिक्षकहरूले एकसाथ सडकमा उत्रिएर आफ्नो असन्तोष प्रकट गरेको समितिको भनाइ छ।