बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका–३ मनिकाँडामा शुक्रबार राति साढे ६ बजे भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगन सिंह भाटका अनुसार सोही गाउँपालिकाको–१ पिलुचौरबाट मनिकाँडा जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरका ट्याक्टर दुर्घटना हुँदा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा बस्ने ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाही घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
दुर्घटनामा सवार भएका पाँच जना घाइते भएका हुन् । घाइते हुनेमा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका– ४ बस्ने २१ वर्षीय नविन बोहरा, जगन्नाथ गाउँपालिका–३ मनिकाँडा बस्ने ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड ५२ वर्षीया रामसरा देबी सिंह र २२ वर्षीया संगिता शाही रहेको जिल्ला प्रहरी कार्यावय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताए ।
घाइते भएका ट्याक्टर चालक बोहरा र विउरा,सिद्धा ओड र रामसरा सिंहको हातखुट्टा,छाती,टाउको,ढाड लगायतका ठाउँमा चोट लागेको छ । भने संगिता शाहीको अवस्था भने गम्भीर रहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटको भनाई रहेको छ ।
पिलुचौरबाट गएको ट्याक्टर अनियन्त्रित भई दौडी खोलामा दुर्घटना हुँदा कच्ची सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका र घाइतेको उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा हिमाली गाउँपालिकाको एम्बुलेन्स मार्फत उद्धार भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाट बताउँछन् ।
दुर्घटना भएको खबरपछि इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरिक्षक र जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।