June 24, 2026 | बुधबार, असार १०, २०८३

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिँदै जगन्नाथको नीति तथा कार्यक्रम सार्वजनिक

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ९, २०८३ २0:२४
कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिँदै जगन्नाथको नीति तथा कार्यक्रम सार्वजनिक

 

सेतीकर्णाली खबर
बाजुरा, असार ९ – जगन्नाथ गाउँपालिकाले कृषि उत्पादन, उद्यम विकास र आयआर्जनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभा तथा १८औँ अधिवेशनमार्फत अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँपालिकाको मूल नारा “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार” लाई आत्मसात गर्दै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, उत्पादनमुखी विकास र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।
अध्यक्ष शाहीले गाउँपालिकाभित्रका सबै वडालाई सडक सञ्जालमार्फत सहज रूपमा जोड्ने, सडकको स्तरोन्नति गर्ने तथा जुड्डी आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने नीति लिइएको जानकारी दिए। शिक्षा क्षेत्रमा विद्यालयहरूको भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरीय शिक्षामा लगानी बढाइने तथा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरण, पशुपालन तथा जडीबुटी खेतीको प्रवर्द्धन, मागमा आधारित सीपमूलक तालिम, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई विशेष महत्व दिइएको छ। स्थानीय उत्पादनलाई आयआर्जनसँग जोड्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने योजनासमेत अघि सारिएको छ।
त्यसैगरी वन संरक्षण, वृक्षरोपण अभियान सञ्चालन तथा गाउँपालिकाभित्र सञ्चालित उद्यम–व्यवसायलाई कानुनी दायरामा ल्याउने नीति पनि समावेश गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र शाहीका अनुसार कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नैतिक शिक्षा तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। प्रभावकारी रूपमा सञ्चालन भइरहेका कार्यक्रमलाई थप सुदृढ बनाउँदै निरन्तरता दिने तयारी रहेको उनले बताए।
गाउँसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका प्रतिनिधिहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्दै गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका थिए। नेपाली कांग्रेसका नेता अर्जुन विष्टले दलगत स्वार्थभन्दा माथि उठेर विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उपाध्यक्ष मरुकला विष्टले नीति तथा कार्यक्रम समावेशी, जनमुखी तथा लक्षित वर्ग केन्द्रित रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनले गाउँपालिकाको समग्र विकासलाई थप गति दिने विश्वास व्यक्त गरिन्।
गाउँसभाको सञ्चालन लक्ष्मण जोशीले गरेका थिए। गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार तथा स्थानीय आर्थिक विकासलाई एकीकृत रूपमा अघि बढाउने स्पष्ट मार्गचित्र तय गरेको सहभागिहरुले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ९, २०८३ २0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट