नेकपा (विप्लव) निकट अखिल (समाजवादी) का केन्द्रीय महासचिव, सशक्त युवा नेता प्रकाश जप्रेल लगायतका नेता तथा कार्यकर्ताहरू वामपन्थी आन्दोलनको ध्रुवीकरणको क्रममा नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।
देशमा विद्यमान राजनीतिक परिस्थिती, वर्गीय संघर्षको आवश्यकता र मजदुर–किसान तथा उत्पीडित जनताको हकअधिकार सुनिश्चित गर्ने उद्देश्यसहित वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य बन्दै गएको निष्कर्षका साथ उहाँहरू नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभएको जनाइएको छ। यो प्रवेशलाई बझाङ जिल्लासहित सुदूरपश्चिम प्रदेशमा वामपन्थी आन्दोलनलाई नयाँ गति दिने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
प्रकाश जप्रेल लामो समयदेखि विद्यार्थी तथा युवा आन्दोलनमा सक्रिय रहँदै आएको एक सशक्त, निडर र वैचारिक रूपमा स्पष्ट युवा नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँले सामाजिक न्याय, समानता, राष्ट्रको स्वाधीनता तथा जनताको सार्वभौम अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। उहाँसँगै पार्टी प्रवेश गर्ने अन्य कमरेडहरू पनि आ–आफ्नो क्षेत्रमा संगठित, अनुशासित र संघर्षशील कार्यकर्ताका रूपमा परिचित छन्।
कार्यक्रममा बोल्दै नेताहरूले नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको जनमुखी नीति, सिद्धान्त र कार्यक्रमप्रति आफूहरू विश्वस्त रहेको बताउँदै देशमा विद्यमान शोषण, दमन र विभाजनको अन्त्यका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। पार्टी प्रवेशसँगै जनताको बीचमा गएर संगठन विस्तार, वैचारिक सुदृढीकरण तथा जनसंघर्षलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले नवप्रवेशी कमरेडहरूलाई पार्टीमा स्वागत गर्दै यो एकताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। विशेषगरी युवाहरूको सक्रिय सहभागिताले पार्टीको संगठनात्मक शक्ति वृद्धि हुनुका साथै जनआन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
उक्त पार्टी प्रवेशले बझाङ जिल्लामा वामपन्थी आन्दोलनको नयाँ चरण सुरु भएको संकेत गरेको छ। जनताको पक्षमा दृढतापूर्वक उभिने, वैचारिक स्पष्टता र संगठनात्मक एकतामार्फत समाज परिवर्तनको दिशामा अघि बढ्ने संकल्पका साथ वामपन्थी आन्दोलन थप सशक्त हुने विश्वास गरिएको छ।