घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा सञ्चालन गरिएको २ महिने मेसिनद्वारा होजियारी (गार्मेन्ट) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमै सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिम २०८२ मंसिर ९ गतेदेखि सुरु भई २०८२ माघ ९ गते औपचारिक रूपमा सम्पन्न भएको हो।
तालिम अवधिभर सहभागीहरूलाई आधुनिक मेसिनको प्रयोगमार्फत होजियारी तथा गार्मेन्टसम्बन्धी व्यवहारिक र उत्पादनमुखी ज्ञान प्रदान गरिएको थियो। तालिममा विशेषगरी कपडा काट्ने तरिका, सिलाइ–बुनाइ, डिजाइनिङ, गुणस्तर व्यवस्थापन, व्यवसायिक उत्पादन प्रक्रिया तथा बजारमुखी उत्पादनसम्बन्धी सीपहरूमा केन्द्रित भएर प्रशिक्षण दिइएको थियो। तालिमलाई पूर्ण रूपमा व्यवहारिक बनाइएकाले सहभागीहरूले छोटो समयमै उल्लेखनीय दक्षता हासिल गर्न सफल भएका छन्।
उक्त तालिममा १६ जना स्थानीय महिला तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगार तथा साना उद्यम स्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय बजारको मागअनुसार कपडा तथा होजियारी सामग्री उत्पादन गरी आयआर्जनका अवसरहरू सिर्जना गर्न सकिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
तालिममा सहभागी रूपा कुमारी उपाध्यायले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै, “यस तालिमले हामीलाई व्यवहारिक सीप सिक्ने अवसर दियो। अब आफ्नै ठाउँमा बसेर रोजगारी सिर्जना गर्न सकिने आत्मविश्वास बढेको छ,” भन्नुभयो।
यसैगरी, घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख मान बहादुर धामीले सीपमूलक तालिमहरू स्थानीय स्तरमै रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सीप विकासमूलक तालिमहरू निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सीप, उद्यमशीलता र आत्मनिर्भरता नै जिल्लाको आर्थिक समृद्धिको आधार भएको बताउनुभयो।
तालिममा सहभागीहरूले पनि तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिँदै व्यवहारिक सीप सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्। घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्लामा सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।
यस किसिमका सीपमूलक तालिमहरूले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा समग्र जिल्लाको आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।