पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ ।
तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ ।
केही दिन अघि पनि सोही स्थानको तल्लो भागमा वर्षाको भेलले केही भाग भासिएको थियो । यही स्थानमा माथिल्लो भागबाट पहिरो खसिरहने समस्या छ । केही दिनयताको निरन्तरको वर्षापछि सडकको केही भाग भासिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।
सडक भासिएपछि केही समय यातायात पूर्ण रुपमा बन्द गरी डायभर्सनको काम गरिएको छ । भासिएको स्थानमा डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।