बझाङ, साउन १६। जयपृथिवी नगरपालिका–३ को आयोजनामा तथा डिभिजन वन कार्यालय बझाङको बिरुवा सहयोगमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वडा नं. ३ अन्तर्गत रहेको कुवागैरा सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब ४ सय बिरुवा रोपिएका छन ।
वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्नुका साथै पहिरो नियन्त्रणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जयपृथिवी नगरपालिका–३ का वडा अध्यक्ष गंग खड्काले जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरूमा बढ्दो वन विनाश, जलवायु परिवर्तनका असर तथा प्राकृतिक विपद्का जोखिमलाई न्यूनीकरण गर्न वृक्षरोपण अभियान प्रभावकारी माध्यम भएकाले स्थानीय सरकारको पहलमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख, जयपृथिवी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, निर्माण व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
वृक्षरोपण कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोप्दै वन संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए। उनीहरूले वन क्षेत्रको संरक्षण, जैविक विविधताको संवर्द्धन, भू–क्षय तथा पहिरो नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण र भावी पुस्ताका लागि स्वच्छ तथा हरियाली वातावरण निर्माणमा यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
डिभिजन वन कार्यालयले उपलब्ध गराएका विभिन्न प्रजातिका बिरुवा सामुदायिक वन क्षेत्रमा योजनाबद्ध रूपमा रोपिएको आयोजकले जनाएको छ। आगामी दिनमा ती बिरुवाको नियमित संरक्षण, स्याहार–सम्भार, गोडमेल तथा अनुगमनलाई प्राथमिकतामा राखिने र दीर्घकालीन रूपमा हरियाली विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ।
स्थानीयवासीले पनि यस्ता कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी रोपिएका बिरुवाको संरक्षणमा सबै पक्षले समान जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार वृक्षरोपण मात्र पर्याप्त नभई बिरुवालाई हुर्काउने र वन क्षेत्रको दिगो व्यवस्थापन गर्ने कार्यमा समुदायको सक्रिय सहभागिता आवश्यक छ।
जयपृथिवी नगरपालिका–३ ले वातावरण संरक्षण र हरियाली विस्तारलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि वृक्षरोपण तथा वन संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।