बझाङ । जयपृथ्वी नगरपालिका वडा नं. ३ निवासी विष्णु खड्का आगलागीबाट घरबारविहीन बनेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। यसै क्रममा भारतको ब्यङ्लोरमा रहेका पडेस बासिहरूकाे साझा संस्था पडेस प्रवास एकता समाज ब्यङ्लोर ले पीडित खड्का परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
गत बिहीबार विष्णु खड्काको घरमा अचानक आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा लगायतका दैनिक उपभोगका सामग्री जलेर नष्ट भएका थिए। आगलागीका कारण परिवार ठूलो आर्थिक तथा मानसिक समस्यामा परेको अवस्थामा पडेस प्रवास एकता समाज ब्यङ्लोरका पदाधिकारी तथा सदस्यहरूले मानवीय संवेदनशीलता देखाउँदै राहतस्वरूप आर्थिक सहयोग संकलन गरेका हुन्।
समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी एकमुष्ट रु. ३१ हजार ८०८ पीडित परिवारलाई हस्तान्तरण गरेका छन्। विदेशमा रहेर पनि आफ्नो जन्मभूमिका नागरिकहरू संकटमा पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ उक्त रकम संकलन गरिएको समाजका सल्लाहकार बिष्णु खड्का बताउनु भयाे।
समाजका प्रतिनिधिहरूले प्राकृतिक तथा मानवीय विपत्तिका घटनाले जो–कोहीलाई पनि प्रभावित बनाउन सक्ने भएकाले पीडित परिवारको दुःखमा साथ दिन आफूहरू सदैव तयार रहेको बताएका छन्। उनीहरूले आगलागीबाट पीडित परिवारलाई पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
विदेशमा रहेका नेपालीहरूले आफ्नो गाउँ–समाजका नागरिकहरूलाई विभिन्न विपद् तथा समस्याका बेला सहयोग गर्दै आएका छन्। पडेस प्रवास एकता समाज ब्यङ्लोरले गरेको यो सहयोग पनि त्यसैको एउटा उदाहरणका रूपमा हेरिएको छ। विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत मिल्ने भएकाले यस्ता सामाजिक कार्यहरू अनुकरणीय भएको स्थानीयवासीको भनाइ छ।
आगलागीबाट प्रभावित विष्णु खड्का तथा उनका परिवारका सदस्यहरूले सहयोग गर्ने पडेश प्रवास एकता समाज ब्यङ्लोरका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरूले दुःखको घडीमा प्राप्त भएको सहयोगले आफूहरूलाई ठूलो हौसला र राहत मिलेको बताएका छन्।
संकटको समयमा मानवीय भावना र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्दै पडेश प्रवास एकता समाज बङ्गलोरले गरेको सहयोगले विदेशमा रहेका नेपालीहरू आफ्नो मातृभूमिप्रति कति जिम्मेवार र संवेदनशील छन् भन्ने सन्देशसमेत दिएको छ। यस्ता सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहयोग, सहकार्य र मानवीय सद्भावको भावना थप मजबुत बन्ने अपेक्षा गरिएको छ।