२१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ ।बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।
बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाको ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।
बैठकमा सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी छन् ।