काठमाडौं : क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। त्यस्तै मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ, मोरङका मनिष कुमार राय र क्रिप्टो कारोबारी धादिङ रोशन गुरुङ पक्राउ परेका छन्।
प्रहरीले लुटपाटमा संलग्नहरूबाट १२ लाख दस हजार, ६ थान मोबाइल र एमजी गाडी बरामद गरेको छ। त्यस्तै क्रिप्टो कारोबारीबाट साढे दुई लाख नगद, मोइबाल २ थान र ल्यापटप एक थान बरामद गरेको छ।
क्रिप्टो कारोबारीको गोप्य सूचनाको आधारमा प्रहरीले टोखा ग्रिन्ल्यान्ड बस्ने गुरुङलाई पक्राउ गरी सोधपुछ गर्दा आफूहरूलाई प्रहरी बताउने ६ जनाले १४ लाख नगद लुटेर लगेको बताएका थिए। उनीहरू हतकडीसहित आएको गुरुङले प्रहरीलाई बयान दिएका थिए।
पक्राउ परेका सात जनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक अपील राज बोहोराले जानकारी दिए। स्रोत- अन्नपुर्ण