October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धनगढीमा तीन दिन भुवा पर्व मनाउने

  • सेती कर्णाली खबर
  • शनिबार, पुस २१, २०८० १३:२६
धनगढीमा तीन दिन भुवा पर्व मनाउने

। बाजुरेली सेवा समाजले धनगढीको खेल मैदान (कर्भडहल) मा तीन दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस २६ गतेदेखि २८ गते तीन दिनसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो।

पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी बिहिबार परेकोमा भव्य रूपमा भुवा पर्व मनाउन लागीएको जानकारी दिइएको छ।

यो पर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ। बाजुरेली सेवा समाजले धनगढीको कर्भडहलमा आयोजना गर्न लागेको भुवा पर्वमा विहानै मुढा जलाएर सुरुवात गरिनेछ।

बिहिबार भुवा पर्वको उद्घाटन र भुवा चालीहरु प्रदर्शन गरिने छ भने दोस्रो दिन भुवा पर्वको प्रतिष्पर्धा खेल गराइने छ र अन्तिम दिन प्रतियोगितामा सहभागिलाई पुरस्कार, प्रमाणपत्र, प्रशंसा पत्र वितरण, भुवा पर्व प्रदर्शनी र समापन लगायत विभिन्न डेउडा खेलहरुको प्रस्तुति रहने जनाइएको छ ।

समाजका अध्यक्ष बजिर सिंह धामीले प्रतियोगितामा सहभागिता हुनका लागि विभिन्न समाजलाई पत्राचार गरेको र आजदेखि २४ गतेसम्म प्रतियोगि टिम दर्ता शुरु गरिएको बताए ।

बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष धामीले बताए ।

भुवा पर्व, असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको उनले बताए ।

भुवामा दमाहाको बाजासंगै ढाल तरवारसहित चाली खेलेर मनाइने गरिन्छ । भुवा महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झना तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको बताईन्छ।

यति बेला सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ जिल्लामा धूमधामका साथ भुवा पर्व चलिरहेको छ। कैलालीमा समेत पहाडी जिल्लाका बासिन्दाहरूको उल्लेख्य बसोबास रहेकोले परम्परालाई कायम गर्न यो पर्व मनाइन लागेको आयोजकले जनाएको छ । तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेका छ ।

यसैबिच प्रदेश सरकारले सुदूरपश्चिमका भुवा पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । अध्यक्ष धामीले भने –‘अब यो पर्वका दिन प्रदेशले मात्र होइन । काठमाडौंको टुडिखेलमा यो पर्व मनाई संघिय सरकारले पनि सार्वजनिक विदा दिनुपर्छ ।’

  • सेती कर्णाली खबर
  • -