October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धर्म फरक, प्रेम उस्तै

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज २१, २०८० 0१:२२
धर्म फरक, प्रेम उस्तै

पवनराज उपाध्याय/बाँके- एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो। कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो। कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ।

तीनै जनाको घाँटीमा हजारी फूलका माला थिए । को हिन्दु, को मुस्लिम ? न केही भेदभाव थियो, न केही फरक । सबैप्रति समान सम्मान झल्किन्थ्यो । दुवै समुदायका स्थानीय बासिन्दाले हिन्दुहरूको उक्त धार्मिक अनुष्ठानमा सामेल भएर भक्तिभाव प्रकट गरे। सबैले हंसखुस भएर पूजाआजा गरे। बुढीनन्दा नगरपालिका वडा नम्बर ६ मा पर्ने कोटिला गाउँमा हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको मिश्रित बसोबास छ। झन्डै दुई सय परिवारको बसोबास रहेको कोटिलामा २२ परिवार मुस्लिम धर्मावलम्बी छन् । तर, उनीहरूबीच कुनै सामाजिक विभेद छैन । मुस्लिमको पूजामा हिन्दु सहभागी हुन्छन्, हिन्दुको पूजामा मुस्लिम । ‘हामी त जिउँदाका जन्ती, मर्दाका मलामी,’ मियाँले भने, ‘आपसी भाइचारा र सामाजिक व्यवहारले हामीलाई बाँधिराखेको हो ।’

उनीहरूको धर्मकर्म, पूजापाठ, रहनसहन र खानपानको तौरतरिका आ–आफ्नै छ । तर, समुदायका बीच गज्जबको भाइचारा छ । ‘कसैले कसैलाई धार्मिक आस्थालाई लिएर होच्याउँदैनन् । टीकाटिप्पणी हुँदैन, सम्मान गर्छन्,’ वडाध्यक्ष शाहीले भने, ‘मस्जिद निर्माण गर्दा हामी जान्छौं, हाम्रो मस्टाको मन्दिर बनाउँदा उहाँहरू आउनुहुन्छ ।’ दुवै समुदायका घरभित्र आ–आफ्नै धार्मिक आस्था र परम्परामा दृढ छन् । ‘यतिसम्म गाउँमा हिन्दु चेलीको बिहे हुँदा मुस्लिम समुदायकाले गाउँले अभिभावकको भूमिका निर्वाह गर्दै कन्याको गोडा धुन्छन् भने मुस्लिमतर्फ चेलीबेटीको बिहेवारी हुँदा अर्को समुदायकाले त्यसै सद्भाव साट्छन्,’ स्थानीय शिक्षक रवीन्द्र शाहीले बताएका छन ।

थोरै संख्यामा भए पनि आफ्नो समुदायले धार्मिक आस्थालाई लिएर कहिल्यै अपहेलित हुनु नपरेको मियाँले बताए । तीन वर्षअघि मुस्लिमहरूले गाउँमा व्यवस्थित मदरसा निर्माण गरे । पहिको साल मस्जिद र कबरस्थान पुनर्निर्माण गरे । हिन्दु धर्मावलम्बीहरूले पनि कैलाशमाडौंको मन्दिर सुधारे । ‘हाम्रो मन्दिर बनाउन उहाँहरू श्रमदानमा जुट्नुभयो, उहाँहरूको काममा हामीले डटेर श्रमदान गर्‍यौं,’ वडाध्यक्ष शाहीले भने।

  • सेती कर्णाली खबर
  • -