October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अब रक्सी पिउन लाइसेन्स लिनुपर्ने

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १६, २०८० २0:११
अब रक्सी पिउन लाइसेन्स लिनुपर्ने

जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नलाई अनिवार्य लाइसेन्स बनाउनुपर्ने नियम लागू गरेको छ । गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुनेगरी यस्तो नियम ल्याएको हो ।

गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा पाँच सय मिटर टाढाको दूरीमा मात्र मदिरा बिक्रि गर्न पाइने छ ।

कार्यविधि अनुसार मदिरा सेवनकर्ताले दैनिक रुपमा १८० मिलिलिटर, बियरका परिकार एक बोतल पिउनले वार्षिकरुपमा ५ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

अतिथि कार्ड भएकाले मदिरा पिउन चाहेमा दैनिक एक सय रुपैयाँ राजस्व बुझाउनु पर्नेछ । मदिरा सेवन गर्न पाहुनाले पनि लाइसेन्स लिनुपर्नेछ ।

कार्यविधि अनुसार बिक्रीकर्ताले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बिक्री वितरण तथा ओसारपोसार गर्न पाउनेछन् भने सेवनकर्ताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्र सेवन गर्न पाउनेछन् ।

कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती र टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रवक्ता अर्जुन महतराले बताए ।

‘कार्यविधिमा मदिरा पसलले अन्य दैनिक उपभोग्य वस्तु राख्न नपाउने र बिक्रेताले कार्यविधि उल्लंघन गरेमा हरेकपटक १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि गरिएको छ’, उनले भने, ‘मदिरापान गरी होहल्ला गर्नेका हकमा भने पहिलोपटक एक हजार रुपैयाँ र कसुरैपिच्छे दुई हजारका दरले जरिवाना बढ्दै जानेछ ।’ स्रोत:- नेपालकर्म

  • सेती कर्णाली खबर
  • -