October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २१, २०७८ 0८:५८
दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

कर्णाली । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जानकारी दिए ।

सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामको तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको थियो । आज बिहान फलाँटेस्थित तालिम केन्द्रमा पूजापाठ गरी सैनिक गाडीमा राखेर तोप–गोला दैलेख पु¥याइएको हो । इन्द्रदल गुल्मका गुल्मपति लामाले हाल तोप र गोला काँडाचौरस्थित गुल्ममै राखिने बताउँदै भने, ‘कोतगढीमा तोपघर निर्माण पूरा नहुञ्जेल सैन्य सामग्री काँडाचौर ब्यारेकमै राखिनेछ ।’ दैलेख सदरमुकामस्थित पुरातात्विक सम्पदा कोतगढी नेपाली सेनाको स्वामित्वमा रहेकाे छ ।

नारायण नगरपालिकाले कोतगढीको पर्यटकीय विकासका लागि तोप घर निर्माण गरिरहेको छ । नारायण नगरपालिका र इन्द्रदल गुल्मले जङ्गी अड्डासमक्ष तोप र गोला दैलेखमा पुनःस्थापना गर्न माग गर्दै आएका थिए । बुढापाकाका भनाइमा २०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो । जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारिएकाे थियाे ।

सैनिक गणसँगै सुन्दरी, अर्गा तोपका साथै परम्परागत गोला बारुद पनि सुर्खेत ल्याइएको थियो । पित्तल धातुको सुन्दरी तोप विसं १८४६ ताका बनेको बताइन्छ । नारायण–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले दैलेखको इतिहाससँग जोडिएका तोप–गोलाको पुनःस्थापनाले जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने बताएका छन ।

उनले ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए । ‘यो नेपाली सेनाको मात्रै होइन, हाम्रो जिल्लाकै अमूल्य सम्पति हो’, उनले भने, ‘सेनासँग सहकार्य गरेर कोतगढीमा संरक्षण र सम्वर्द्धन नगरपालिकाले गर्नेछ।- हाम्राे अर्थ

  • सेती कर्णाली खबर
  • -