May 7, 2026 | बिहिबार, बैशाख २४, २०८३

जनताको साथ पाउँदै मीन बहादुर, बझाङमा नेकपाको बलियो पकड

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २०, २०८२ १८:१७
जनताको साथ पाउँदै मीन बहादुर, बझाङमा नेकपाको बलियो पकड

दोरेन्द्र खड्का बझाङ
बझाङ, नेपाली कम्युनिष्ट पार्टी बझाङका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मीन बहादुर कुवँरले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। चुनावी अभियानअन्तर्गत बुङल नगरपालिकामा सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा उहाँले बझाङ जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टीको जित निश्चित रहेको बताउनुभयो।
घरदैलो अभियानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कुवँरले पार्टीको नीति, कार्यक्रम तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै मतदाताको समर्थन प्राप्त भइरहेको दाबी गर्नुभयो। उहाँले बझाङ जिल्लाका जनताले लामो समयदेखि परिवर्तन, विकास र न्यायको अपेक्षा गरिरहेको भन्दै त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी आफ्नो काँधमा रहेको उल्लेख गर्नुभयो।
कुवँरले आफू नेपाली कम्युनिष्ट पार्टीभित्र प्रिय र इमानदार नेताका रूपमा परिचित रहेको दाबी गर्दै विभिन्न राजनीतिक जिम्मेवारीमा रहँदा जिल्लाका विकास र जनजीवनसँग जोडिएका महत्वपूर्ण विषयहरू  प्रभावकारी रूपमा उठान गरेको स्मरण गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा रोजगारीका विषयमा आफूले निरन्तर आवाज उठाएको र त्यसका लागि पहल गरेको बताउनुभयो।
“बझाङ जिल्लामा विकासका सम्भावना धेरै छन्, तर राज्यको बेवास्ता र गलत नीतिका कारण ती सम्भावनाहरू उपयोग हुन सकेका छैनन्,” कुवँरले भन्नुभयो, “अब जनताको मतबाट संसदमा पुगेर बझाङको समग्र विकासका लागि ठोस योजना अघि बढाउनेछु।”
कुवँरले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने, कृषिमा आधुनिक प्रविधि भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनासमेत अघि सार्नुभएको छ। उहाँका अनुसार बझाङको खप्तड क्षेत्र, धार्मिक तथा प्राकृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको छ।
>चुनावी अभियानका क्रममा स्थानीय नागरिकहरूले पनि कुवँरप्रति सकारात्मक प्रतिक्रिया दिएको उहाँको दाबी छ। उहाँले जनताको विश्वास र समर्थनले नै आफ्नो जित सुनिश्चित भएको बताउँदै मतदातालाई निर्वाचनमा सहभागी भई नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो।
नेपाली कम्युनिष्ट पार्टी बझाङले समेत जिल्लाभरि चुनावी अभियान तीव्र बनाएको जनाएको छ। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले गाउँ–गाउँमा घरदैलो, सभा, भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै मतदाता शिक्षासँगै पार्टीको राजनीतिक एजेन्डा प्रस्तुत गरिरहेका छन्।

  • सेती कर्णाली खबर
  • -