बझाङ, जयपृथ्वी नगरपालिका–२ मा अवस्थित बालविकास आधारभूत विद्यालयलाई जयपृथ्वी नगरपालिका–८ निवासी तुलछि देबि जोशी र मना देवि जोशीको नाममा रहेको जग्गा निःशुल्क रूपमा उपलब्ध गर्नुभएको छ।
आज आयोजित एक कार्यक्रमका बीच उहाँका जेठा छाेरा उत्तमराज जोशीले आफ्ना सबै दाजुभाइहरूको सहमतिमा विद्यालयलाई जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको हो। विद्यालयको सिमानासँगै जोडिएको करिब रु पाँच लाख मूल्य बराबरको उक्त जग्गा विद्यालयलाई दान गरिएको हो।
विद्यालयलाई जग्गा प्राप्त भएसँगै खेल मैदान निर्माण तथा नयाँ भवन विस्तार गर्न सहज हुने भएको छ। विद्यालयका प्रधानाध्यापक डबल बहादुर खड्काका अनुसार जग्गा अभावका कारण विद्यालयमा भौतिक पूर्वाधार विस्तार गर्न कठिनाइ भइरहेको थियो। उहाँले यो सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानाध्यापक खड्काका अनुसार वि.सं. २०३७सालमा स्थापना भएको बालविकास आधारभूत विद्यालयमा हाल बालकक्षा देखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ। विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै थप कक्षाकोठा र खेल मैदानको आवश्यकता महसुस हुँदै आएको थियो।
विद्यालयले आवश्यक जग्गाको खोजी गरिरहेको समयमा समाजसेवी जोशी परिवारले गरेको यो उदाहरणीय सहयोगले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको वडा अध्यक्ष कलक बहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार यो कार्यले समाजमा शैक्षिक विकासप्रति जनचेतना बढाउन र अन्य व्यक्तिहरूलाई पनि यस्ता सामाजिक कार्यमा प्रेरित गर्नेछ।
स्थानीय बासिन्दाहरूले पनि जोशी परिवारको यस योगदानलाई उदाहरणीय र प्रशंसनीय कार्य भन्दै विद्यालय विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।