
सेतीकर्णाली खबर
८ माघ बाजुरा- बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा रहेका ८ जना उम्मेदवारहरूले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदानको वातावरण सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता गरेकाछन।
बिहीबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत एक स्वतन्त्र सहित ७ राजनीतिक दलका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु बाजुराको चुनावी इतिहासमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। विगतका निर्वाचनमा तीव्र प्रतिस्पर्धाका कारण आपसी द्वन्द्व, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धतालाई राजनीतिक परिपक्वताको उदाहरण मानिएको छ।
बडिमालिका नगरपालिकाको मेयर अमर खड्काले एकजना स्वतन्त्र उम्मेदवार सात राजनितिकदलका प्रतिनिधिसभा सदस्यहरुलाई पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादी बाट भूपेन्द्र वि।क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही ले उम्मेदवारी दर्ता गराउनुभएको छ।
८ जना उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यसलाई जिल्लाको मात्रै नभई समग्र नेपाली राजनीतिका लागि असल अभ्यासको रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

संयुक्त प्रतिबद्धता पत्रमार्फत उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन्। प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने, एक–अर्को उम्मेदवार तथा दलको सम्मान गर्ने र उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने प्रतिबद्धताले विगतका चुनावी विकृतिप्रति आत्मरक्षा गरेको सङ्केत दिएको छ।
यस्तै, सामाजिक शान्ति, अमन–चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ। निर्वाचन तथा मतदान प्रक्रियामा कुनै प्रकारको धाँधली, घुसपैठ वा अवाञ्छित गतिविधि भएमा संयुक्त रूपमा अस्वीकार गर्ने, उत्पन्न हुने विवाद आपसी संवादमार्फत समाधान गर्ने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने तथा निर्वाचनलाई आधार बनाएर व्यक्ति, समूह वा समुदायबिच द्वन्द्व सिर्जना नगर्न नगराउन आम मतदाता र जनसमुदायलाई आग्रह गरिएको छ।
