January 10, 2026 | शनिबार, पुस २६, २०८२

जगन्नाथमा राष्ट्रपति रनिङशिल्ड सुरु

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस २५, २०८२ २२:४४
जगन्नाथमा  राष्ट्रपति रनिङशिल्ड सुरु

सेतीकर्णाली खबर

  दिपेश शाही पौष २५ बाजुरा- जगन्नाथ गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सुरु भएको हो ।

गाउँपालिकाको केन्द्र जुड्डीमा आज एक कार्यक्रमका आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको पालिकाले जनाएको छ । सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष गौरी सार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक, शिक्षक विद्यार्थी, स्थानीयको  सहभागिता रहेको रहेको थियो । रोजगार संयोजक लक्ष्मण जोशीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखा प्रमुख धुर्वबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा जगन्नाथ गाउँपालिकाभित्रका ६ वटा विद्यालय देवलकोटा, कैलाश, सरस्वती, बालविकास, महादेव माध्यमिक विद्यालय र वैदिक सनातन गुरुकुलको सहभागिता रहेको सूचना अधिकारी राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रशिक्षकका रूपमा हिमाल खड्का, सुरेश रोकाया र जयदेव देवकोटाले प्रशिक्षण गर्नुहुने उहाँले बताउनुभयो । आज प्रतियोगिताको पहिलो दिन छात्र तथा छात्रा सटपुट खेल सम्पन्न भएको छ । जस अन्तरगत छात्रतर्फ प्रथम देवलकोटा माविका वसन्त बुढा, दोस्रो वैदिक सनातन गुरुकुलका खेमराज घटाला र तेस्रो कैलाश माविका बाबुराम खत्री भएका छन् ।
छात्रातर्फ प्रथम सरस्वती माविकी रोसना गिरी, दोस्रो बालविकास माविकी सुमित्रा विष्ट र तेस्रो देवलकोटा माविकी इलिजा शाही भएका छन् । खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -