January 5, 2026 | सोमवार, पुस २१, २०८२

बझाङमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु, सम्भावित उम्मेदवारको चर्चा तीव्र

  • सेती कर्णाली खबर
  • शनिबार, पुस १९, २०८२ ११:५४
बझाङमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु, सम्भावित उम्मेदवारको चर्चा तीव्र

 सेतीकर्णाली खबर 

 १९ पौष    बझाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक हुन थालेसँगै जिल्लामा चुनावी चर्चा चुलिएको छ ।
नेपाली कांग्रेसबाट युवा नेता अभिषेक सिंहको नाम अग्रपंक्तिमा आएको छ । संगठन विस्तार र युवामाझ राम्रो पकड बनाएका सिंहलाई पार्टीले सम्भावित उम्मेदवारका रूपमा अघि सार्न सक्ने चर्चा छ। स्थानीय तहमा सक्रियता र संगठनात्मक अनुभवका कारण उनीप्रति कार्यकर्ताको भरोसा देखिन्छ।
त्यसैगरी, नेकपा एमाले तर्फबाट केन्द्रिय सदस्य तथा युवा नेता ऐन महरको नाम पनि चर्चामा रहेको छ । पार्टीभित्र प्रभावशाली मानिने महरले यसअघि पनि संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेलेका कारण उनको उम्मेदवारी बलियो मानिएको छ ।पछिल्लो समय बझाङमा एमालेको संगठन सुदृढ बनाउने अभियानमा सक्रिय रहेका महरलाई पार्टीले उम्मेदवार बनाउने सम्भावना उच्च रहेको बताइन्छ। एमालेभित्र अन्य केही आकांक्षीहरूको नाम पनि सतहमा आउन थालेको छ।

उता, नेपाली कम्युनिष्ट पार्टी  बाट युवा नेता नेपाली कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य मीन बहादुर कुवरको नाम चर्चामा आएको छ । जिल्लामा लामो समयदेखि सक्रिय रहँदै आएका कुवरले स्थानीय तहमा राम्रो जनसमर्थन पाएको बताइन्छ ।
त्यस्तै, नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मीन बहादुर सिंहको नाम पनि सम्भावित उम्मेदवारको रूपमा अगाडि आएको छ । पछिल्लो समय वैकल्पिक राजनीतिप्रति बढ्दो जनआकर्षणसँगै रास्वपाबाट पनि बलियो उम्मेदवार आउने संकेत देखिएको छ ।
यद्यपि, यी सबै नामहरू हाल प्रारम्भिक चर्चामै सीमित छन् । सम्बन्धित दलहरूले औपचारिक रूपमा उम्मेदवारको टुंगो भने लगाइसकेका छैनन् । आगामी दिनमा दलहरूको आन्तरिक निर्णय र राजनीतिक समीकरणअनुसार उम्मेदवार टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
बझाङ जिल्लामा यसपटकको प्रतिनिधि सभा निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ । जनताको मुद्दा, विकास, सुशासन र रोजगारी मुख्य चुनावी एजेन्डा बन्ने अनुमान गरिएको छ ।

  • सेती कर्णाली खबर
  • -