सेतीकर्णाली खबर
उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ।
“हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको छ। कार्यक्रमको प्रमुख अतिथि नेपालका पहिलो निर्त्य निर्देशक भैरव बहादुर थापा हुनुहुन्छ एक दर्जन बढी कलाकारको सांगीतिक प्रस्तुति सहित विविध सांस्कृतिक प्रस्तुति, विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा सामाजिक उत्तरदायित्वका रूपमा रक्तदान कार्यक्रम समेत समावेश गरिएको छ।
कार्यक्रममा पुराना लाई सम्मान नयाँ लाई प्रोत्साहन सहित हाम्रो कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका श्रष्टाहरु बमबहादुर कार्की, कुन्ती मोक्तान, धिरेन्द्र प्रेमर्षी, रामचन्द्र काफ्ले, मिन बहादुर भाम, उदिराम खड्का र तिलकसिंह पेलालगायत चर्चित व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। भने सांगीतिक प्रस्तुतिमा लोकप्रिय गायक टेकबहादुर बोगटी, अर्जुन कौशल, छत्र शाही,विनोद बिक, निङ्मा सेर्पा,नवराज भण्डारी,अमृत कुमार अन्मोलले प्रस्तुत दिनेछन भने लोकप्रिय् गायिका शोभा थापा, सपना शाही,निशा रावल, इब्सल सन्ज्याल,बिपना सिंहले प्रस्तुति दिनेछन् । उक्त अवसरमा नेपाली मौलिक संस्कृति झल्किने नृत्य, गीत–संगीत तथा परम्परागत कला प्रदर्शन गरिनेछ। साथै, DONATE BLOOD अभियान अन्तर्गत रक्तदान कार्यक्रम पनि सँगै सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष महेन्द्र मल्लले सेतीकर्णाली खबरलाई जानकारी दिनु भएको छ ।
नेपाली कला सांस्कृतिक प्रतिष्ठानले एक वर्षको छोटो समयमा नै सांस्कृतिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ। संस्थाले यस कार्यक्रमलाई नेपाली कला, संस्कृति र समाजप्रति समर्पणको प्रतीकका रूपमा लिएको जनाएको छ।
कार्यक्रममा सबैलाई उपस्थित भई सहभागिता जनाउन आयोजकले हार्दिक निमन्त्रण गरेको छ।