पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् ।
ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ ।
त्यसो त ठूला दलका नेता कुनै हालतमा राजतन्त्र फर्कने सम्भावना छैन भन्ने अभिव्यक्ति दिनै व्यस्त छन् । राजनीति गर्न चाहे दल दर्ता गरेर निर्वाचनमा होमिन उनीहरुले सुझाव दिएका छन् । यसले के संकेत गरेको छ भने पूर्व राजाको पछिल्ला गतिविधि र अभिव्यक्तिले ठूला राजनीतिक दललाई समेत सोच्न वाध्य बनाएको छ । र त उनीहरुले लगातार प्रतिक्रिया जनाइरहेका छन् ।
माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसमा फागुन ६ गते लामै भिडियो सन्देश दिए । जुन सन्देशले उनी आफै राजतन्त्र फर्काएर गद्धी आरोहण गर्न इच्छुक छन् भन्ने प्रष्ट्याएको छ त्यतिबेला उनले राष्ट्रको समृद्धि र उन्नतिका लागि आफ्नो साथ आवश्यक रहेको उल्लेख गरेका थिए । उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै राष्ट्रिय एकता कायम गर्न सबैलाई आह्वान गरेका छन् ।
पूर्वराजा शाहले आफ्नो १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या समाधानका लागि त्याग गरेका थियौं । अब नेपालको उन्नतिका लागि आवश्यक पर्ने अरू त्याग गर्न पनि हामी तयार छौं । अब राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि सबै देशवासीलाई हामीलाई साथ दिन आह्वान गर्दछौं ।’
उनले जनताको हितका लागि ओहोदा र सुविधाहरू त्यागेको दाबी गरेका छन् । ‘नेपाल हाम्रा देशभक्त पुर्खाहरूले बनाएको सुन्दर राष्ट्र हो । यस राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामीले सधैं राष्ट्रको हितमा उदारता देखाउँदै आएका छौं,’ उनले भने । साथै, उनले आफ्नो त्यागलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गर्दै, ‘त्यागले कसैको महत्व कम हुँदैन । हाम्रो लक्ष्य सबैलाई समेटेर अघि बढ्नु हो,’ भनेका छन् ।
शाहले प्रजातन्त्रको सार्थकता व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै, ‘केवल सुन्दर शब्द र आकर्षक आदर्शले प्रजातन्त्र सफल हुँदैन । सेवाभाव, सही प्रजातान्त्रिक आचरण, सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्छ। निषेधको राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन,’ भनेका छन् ।
उनले नेपालको इतिहास मेटिँदै गएको तथा अस्तित्व नै संकटमा परेको गुनासो गर्दै भने, ‘युवा जनशक्ति विदेश पलायन भइरहेको छ। नवजात नेपाली शिशुको टाउकोमा ठूलो ऋणको भार छ । कलकारखाना, व्यापार-व्यवसाय निरन्तर धराशायी बन्दैछन् । नेपालको नीति तथा प्रणाली ठीक छैन भन्ने भावना बढ्दै गएको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।’ स्रोत-khabarhub