October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराकाे मार्तडीमा चामल किन्नेको भिड, कोल्टीमा अझै पुगेन्

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० 0३:१२
बाजुराकाे मार्तडीमा चामल किन्नेको भिड, कोल्टीमा अझै पुगेन्

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपछि किन्नेको भिड लागेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा महंगीको मारमा परेका बाजुराका नागरिक अहिले धमाधम चामल आउँन थालेपछि किन्न आउँनेको भिड लागेको हो । भदौ २४ मा सकिएको मोटा चामल करिब ६ महिनापछि आएपछि यँहा स्थानिय तथा सदरमुकाममा अध्ययनरत् विद्यार्थीहरु चामल किन्नका लागि लाइन लागेका छन् ।पहिलो चरणमा माघ ११ गते १ सय क्विन्टल आएकाे मोटा चामल दुई दिन बिक्री हुदैँ सकिएको थियो । त्यसपछि गत शुक्रबार १ सय क्विन्टल चामल आएपछि आज चामल किन्नेको कार्यालयदेखि सडक सम्म लाइनमा लागेका हुन् ।

लामो समय बजारको महंगीमा परेका सर्वसाधारण अहिले केहि सस्तो मोटा चामल आउँन थालेपछि किन्नेको ठुलो भिड लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताएका छन् । उनले भने दाङबाट पहिलो पटक बाजुरा आए आउँने बितिकै याँहा चामल सकिएको रहेछ,अहिले चामल पुग्न थालेपछि किन्नेको यत्रो भिड पहिलो पटक देखे ।

पहिलो चरणमा कुटानी पिसानीको २ सय क्विन्टल चामल पुगिसकेकाले थप आइरहेको र अहिले ठेक्का प्रक्रियामा रहेकोले थप चामलका लागि पहल भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए । मार्तडीमा अहिले मसिनो जिरा चामल १ सय २० क्विन्टल मौजात रहेको कार्यालयले जनाएको छ । मार्तडीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपनि कोल्टी बिक्री केन्द्रमा भने नपुग्दा त्याँहाका नागरिक महंगीको मारमा परेका छन् । कोल्टीमा केहि दिनअघि १ सय क्विन्टल मोटा चामल पुगेपनि बिक्री भएर सकिसकेको छ । कोल्टीका लागि थप मोटा चामल मार्तडीमा पुगिसकेका भएपनि सडक अबरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ । मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडकखण्डमा करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ ।

कोल्टीका लागि भन्दै मोटा चामल मार्तडीमा पुगेको भएपनि हिउँदमा पनि बाटो अबरुद्धको समस्या देखाउँदै मन्त्री सांसदकै क्षेत्रमा सस्तो मूल्यको चामलसमेत पुर्याउन नसकेको भन्दै त्याँहाका नागरिकहरुले गुनासो गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले भने बाटो अवरुद्धका कारण चामल पठाउन नसकिएकाले खुल्ने बित्तिकै कोल्टीमा चामल पुग्ने बताए ।

कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने १ सयबढि क्विन्टल जिरा चामल भएपनि निकै महंगो भन्दै नागरिकले किन्नै छोडेका छन् । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियो भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० 0३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?