October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खाँणलाई हिरासतबाट टेकनारायणको सन्देश : प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्, पैसा फिर्ता गरिदिनुस्

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ११, २०८० 0७:४१
खाँणलाई हिरासतबाट टेकनारायणको सन्देश : प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्, पैसा फिर्ता गरिदिनुस्

जेठ, काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन गृहसचिव पाण्डेलाई २० वैशाखमा पक्राउ गरेको थियो । खाँण भने २७ वैशाखमा पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोगपत्रअनुसार पूर्वगृहमन्त्री खाँण पक्राउ पर्नुअघि नै तत्कालीन गृहसचिव पाण्डेले हिरासतबाटै पठाएको लिखित सूचना खाँणको साथबाट प्रहरीले बरामद गरेको थियो ।

उक्त सूचनामा खाँणलाई जोगाउन प्रधानमन्त्रीलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने, केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी इन्कारी बयान गराउन आग्रह गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले लिखित सूचनाको परीक्षण गरेको थियो, जुन पाण्डेकै हस्तलिखित भएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।
खाँणले पूर्वसभासद आङटावा शेर्पालाई प्रहरी हिरासतमा रहेका सानु र केशवलाई भेट्न पठाएर रकम फिर्ता गर्ने भन्दै बयानमा आफूलाई नपोल्न भनेका थिए । सानु र केशव सहमत भएपछि शेर्पाले ३० लाख रुपैयाँ सानुका दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको घटना विवरण कागज र भरपाई कागजबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।
प्रहरीको दाबी अनुसार खाँणले केशव र सानुबाट १ करोड २४ लाख रुपैयाँ नगद बुझेका थिए । साथै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने आपराधिक समूहमै खाँण संलग्न भएको पुष्टि भएको अभियोगपत्रमा उल्लेखछ ।
खाँणले तत्कालीन गृहसचिव पाण्डे, केशव दुलाल, नरेन्द्र केसी र आङटावा शेर्पालाई परिचालन गरेर संगठित ठगी, सरकारी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकूल काम गरेकोअभियोगपत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध गरेकाले त्यसअनुसार सजाय हुनुपर्ने मागदाबी छ ।
अनलाईन खबर बाट साभार

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ११, २०८० 0७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट