October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

  • सेती कर्णाली खबर
  • शनिबार, पुस २३, २०७९ 0२:३९
सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

 

अर्जुन बिष्ट २३ पुस , – रुकुम  पश्चिम आठबिसकोट नगरपालिकाको पालिका केन्द्र स्थित राडी बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । राडी बजार क्षेत्रमा रहेका विभिन्न क्षेत्र संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा गरिने पार्किङले गर्दा बजार नै अस्थव्यस्थ बन्दै गएको हो ।

बजार क्षेत्रमा कपडा पसल, होटल, हार्ववेयर, किराना पसल, मेडिकल लगायतका पसलहरु सञ्चालित रहेका छन् । बजारको नेत्रचोकदेखि तल्लोबजार सम्म सडक छेउ तथा गल्लीमा संघसस्था, भाडापसल, पुस्तकालय, बैक, बिजुलीका पसल तथा कार्यालय रहेका छन् । नेत्रचोक देखि क्याम्पस रोडसम्म ग्यारेज, फलफुल पसल, फ्रेस हाउस लगयातका पसलहरु रहेका छन ।

राडी बजार सुन्दर र सभ्य भएको भएपनि पछिल्लो समय पालिकाको केन्द्रमा बढ्दो बसोबास र आवतजावत को चाप बढ्दै गएपछी पार्किङ अभावले अस्त व्यस्त देखिन्छ । बढ्दो शहरीकरणले बजार क्षेत्रमा जथाभावी पार्किङ हुँदा बजार अस्तव्यस्थ भएको स्थानीयको भनाई छ । सडक छेउछाउमै जथाभावी पार्किङ गर्दा बजार क्षेत्रमा किनमेल गर्न आएका सर्वसाधारणले समेत सास्ती खेप्दै आएका छन ।

नगरपालिकाको केन्द्र र वडा नम्वर -९ को कार्यालय पनि यहि बजारमा रहेकोले कार्यालय धाउने सेवाग्राहीले आफ्नो सवारी साधन सडकमै अलपत्र छोडेको हुन्छन् ।” जसले गर्दा आवतजावत गर्ने सर्वसाधारण लाई धेरै गाह्रो हुन्छ । सवारी साधनको चाप धेरै नभएपनि जथाभावी पार्किङ गर्दा बजार क्षेत्र कुरुप बन्ने मात्रै होईन पैदल यात्रुलाई समेत समस्या परेको छ।

बजार क्षेत्रमा अव्यवस्थित रुपले पार्किङ मनलाग्दी भएसँगै पार्किङले गर्दा बजार दुर्गन्धित समेत हुँदै गएको छ । बजारको पाँच सय मिटर पछाडी सार्वजनिक जग्गा छ । वसापर्क त्यतै बनाउने तयारीमा छौँ । नगरप्रमुख रवि केसीले भन्नुभयो, अघिल्लो सरकारले बसपार्क निर्माण गरेको थियो । तर त्यो व्यवस्थित र उपयुक्त ठाउँ नभएको कारण प्रयोगमा आउन सकेको छैन । अब चाँडै बसपार्क निर्माण गरेर अव्यवस्थित पार्किङ हटाउछौँ । यता सरोकारवाला निकायले पार्किङ व्यवस्थित पार्ने चासो नदिएका कारण यहाँका मुख्य बजार सिमबजार र राडीबजारको सडकको छेउछाउमा सार्वजनिक यातायात र निजी घरधनीले कब्जा गरेको स्थानीयको गुनासो छ । पटक पटक बसपार्कमा पार्किङ गर्न सम्बन्धीत निकायलाई अनुरोध गर्दा कुनै पनि चासो नदेखाएको स्थानीयको गुनासो छ।

दिनप्रतिदिन बढ्दै गएको अव्यवस्थित पार्किङका कारण बजार क्षेत्र कुरुप देखिने मात्रै होईन स्कुल आउजाउ गर्ने बालबालिका लाई समेत दुर्घटनाको उच्च जोखिम रहेको छ।सडक साघुरो त्यसमाथि सडक छेउमै मनलाग्दी पार्कीङ्ले सवारी दुर्घटनाको जोखिम उच्च भएको बजारबासीको गुनासो छ। राडी बजार क्षेत्रमा अहिले व्यापक शहरीकरण हुँदै गएको छ । पार्किङलाई व्यवस्थित गर्न सक्यो भने सवारी दुर्घटनामा पनि कमी ल्याउन सकिने सरोकारवालाको भनाई छ।

  • सेती कर्णाली खबर
  • -