October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १८, २०७८ 0५:३0
२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

 जाजरकोट  १८पाैष,  जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए । प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम स्थित गैरीखालीबाट नगद २ लाख ५२ हजार रुपैयाँ र मोवाइल बैंकिङ्गबाट रकमान्तर गर्न प्रयोग भएका केहिथान मोबाइल सहित पक्राउ परेका हुन । जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति शशी बुढा पनि पक्राउ परेका छन् । ‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं,’ एक प्रहरीले भने, ‘उनीहरूको साथबाट नगद र मोबाइलहरु पनि बरामद भएको छ ।’ उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि प्रयोग भएको हुनसक्ने प्रहरी अनुमान छ । साविक जिल्ला विकास समितिमा अधिकृत छैटौंमा नियुक्ति भएका घर्ती नगरप्रमुख चन्द्र प्रकश घर्तीका नातेदार हुन । उपसचिवको दरबन्दी रहेको नगरपालिकामा नगर प्रमुखको दाई भएका कारण घर्तीले दरबन्दीको उपसचिवलाई सरुवा गराएर लामो समय देखि आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन । नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख घर्तीले कर्मचारीहरुलाई जिम्मेवारी दिँदा र नयाँ कर्मचारी नियुक्त गर्दा नगरपालिकालाई आफ्ना परिवारका मान्छे भर्ती गर्ने थलो बनाएको आरोप लाग्ने गरेको छ ।

  • सेती कर्णाली खबर
  • -